Prakash Adhikari December 13, 2022

 

बीरेन्द्रनगर(सुर्खेत), २७ मंसिर । जाजरकोटको छेडागाड नगरपालिका एउटा जीप दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि अस्पतालतर्फ लैजादै गर्दा मृत्यु भएको हो।

उक्त जीपमा सवार एकजना गम्भीर घाइते भएका छन् र उनलाई उपचारका लागि सुर्खेत पठाएको त्यहाँका निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले जानकारी दिनुभयो।

“जीप दैलेखबाट विवाहको निम्ति जाजरकोट आएको बुझिएको छ। दुर्घटनामा परी घाइते भएकालाई उपचारका निम्ति सुर्खेत पुर्‍याइएको छ,” भण्डारीले भन्नुभयो।

उहाँका अनुसार विवाहको जन्ती सवार उक्त जीपमा १२ जना सवार थिए।

गाडी साँझ ५ः३० बजेतिर भिरबाट तल खसेको थियो।

मध्यपहाडी सडकखण्ड अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भीरबाटीमा दुर्घटना भएको हो।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पोषराज पोखरेलका अनुसार जीप करिब २५० मिटर तल खसेको थियो।

“जन्ती गएका मानिस बिरामी परेपछि वडाबन स्वास्थ्यचौकी लैजाने क्रममा गाडी दुर्घटनामा परेको हो,” पोखरेलले भन्नुभयो।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।(बीबीसी)

 

Share Now

Leave a comment.