बनेपा(काभ्रेपलाञ्चोक), २७ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइतेभएका १४ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक गाउँपालिका ४ चलालगणेशस्थान नजिकै सल्लाफेदमा दुर्घटना भएको हो।
घाइतेहरुको बनेपाको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार गरिएको छ । अहिलेसम्म १४ जना घाइतेलाई उपचारका लागि अस्पताल पुराइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल तथा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याइएको बताउनुभयो।


















