काठमाडौं, २ पौष । नयाँ सरकार निर्माणका लागि दिनगन्ती सुरु भएसँगै आगामी सरकारको नेतृत्वबारे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अविश्वास उत्पन्न हुन थालेको सङ्केत ती दलका नेताहरूले दिएका छन्।
यससँगै सरकार निर्माणमा दोस्रो ठूलो दल नेकपा एमालेको सम्भावित भूमिकाबारे पनि अनुमान गर्न थालिएको छ।
प्रतिनिधिसभामा बहुमत पुर्याउन केही साना दलहरूको समर्थन सुनिश्चितजस्तै देखिइसकेको भए पनि सरकारको नेतृत्व लिन कांग्रेस र माओवादी दुवैले प्रयास गरिरहेका छन्।
प्रतिनिधिसभा निर्वाचनअघि आगामी सरकारको नेतृत्वमा विवाद नगर्ने वाचा गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो प्रतिबद्धतामा अडिग रहनुहोला त ? यसबारे पनि आशङ्का सुरु भएको छ।
कांग्रेस माओवादी दुवैको एमाले कार्ड

सार्वजनिक अभिव्यक्तिमा गठबन्धनलाई एक ढिक्का राख्ने दोहोर्याइरहेनु भएका देउवा र दाहालले आफू निकटका नेताहरूको माध्यमबाट नेकपा एमालेको नेतृत्वसँग पनि छलफल सुरु गर्नुभएको छ ।
“संस्थागत रूपमा नभए पनि व्यक्तिगत रूपमा कांग्रेसका नेताहरूले पनि र माओवादीका नेताहरूले पनि भेटिरहनुभएको छ। तर संस्थागत रूपमा उहाँहरूले गठबन्धनलाई नै टिकाइराख्ने निर्णय गर्नुभएको छ,” एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र माओवादी नेताहरूसँग भेटवार्ता भइरहेको पुष्टि गर्दै भन्नुभयो।
“गठबन्धन अघि नबढ्ने भयो नभन्दासम्म यो विषय उहाँहरूको निजी चासो र चिन्ताको विषयजस्तो मात्रै देखिन्छ।”
कांग्रेस र माओवादी नेताहरूको बाक्लिँदै गएको भेटवार्तालाई अहिलेलाई गठबन्धनभित्र “मोलमोलाइको” दृष्टिले मात्रै आफूहरूले हेरिरहेको एमाले नेताहरू बताउँछन्।
प्रतिनिधिसभामा ७८ सीट जितेको एमाले र कांग्रेस मिल्दा नयाँ सरकार निर्माणका लागि सहजै बहुमत पुग्छ। एमालेको र माओवाद सहित अरू केही साना दल मिलेर सरकार बनाउन पनि सम्भव छ।
“गणितीय हिसाबले चाहिँ सत्ता गठबन्धन नै सरकार बनाउन सक्ने सम्भावना देखिएको हुनाले हामी पर्ख र हेरको अवस्थामा छौँ,” एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्नुहुन्छ।
गठबन्धन एकजुट हुँदासम्म एमालेलाई सरकार गठनमा अग्रसरता लिन अप्ठ्यारो छ।
तर गठबन्धनमा भागबन्डा नमिलेको अवस्थामा एमाले आफ्नो नेतृत्वमा वा त्यो नभए नेतृत्व अरूलाई दिएर भए पनि सरकार निर्माणको खेलमा उत्रन सक्ने धेरैको आँकलन छ।
एमालेले अहिलेको गठबन्धन भत्काउने सर्तमा कांग्रेस वा माओवादी सहितका दलहरूसँग सहकार्य गर्न सक्ने एमाले नेताहरू बताउँछन्।
“हामी परिस्थिति आउँदा निकास दिने पक्षमा छौँ तर अरूको महत्त्वाकाङ्क्षाको काँध हालेर हामी कसैको सवारी चाहिँ बन्दैनौँ,” ज्ञवालीले भन्नुभयो।
प्रधानमन्त्री र राष्ट्रपति दुवैमा कांग्रेसको दाबी
निर्वाचन परिणामपछि माओवादीभन्दा झन्डै तेब्बर सीट सङ्ख्याले ठूलो दल बनेको कांग्रेसले आगामी प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गरिरहेको छ।
“स्वाभाविक रूपमा सबभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो भनाइ छ,” कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भन्नुभयो।
तर सरकारको नेतृत्व र राष्ट्रपतिमा भागबन्डाबारे कुनै निर्णय वा गम्भीर छलफल नभएको स्पष्ट पार्दै प्रवक्ता डा. महतले भन्नुभयो, “कांग्रेस ठूलो अन्तरले ठूलो दल छ। त्यस कारणले राष्ट्रपतिमा पनि दाबी गर्नु अस्वाभाविक हुँदैन।”
प्रधानमन्त्री नछोड्ने कांग्रेस नेताहरूको अभिव्यक्ति र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे भइरहेका चर्चाका कारण माओवादी नेताहरू कांग्रेससँग झस्किएका छन्।
राजनीतिक प्रणालीमा गैरराजनीतिक नेतृत्व हुने कुरा “अवधारणागत रूपमै त्रुटिपूर्ण” हुने भन्दै माओवादी महासचिव देव गुरुङले त्यस्तो प्रस्तावमा आफ्नो दल सहमत नहुने बताए।
“यो व्यवस्थाको लागि सबैभन्दा बढी त्याग र बलिदान गरेको त माओवादी नै हो। यसको मुख्य हिस्सेदार वा यसको मुख्य प्रस्तावक त गिरिजाप्रसाद कोइराला र प्रचण्ड नै हो। त्यस कारण मुलुकको सिस्टममाथि चुनौती पैदा भएको अवस्थामा नेतृत्व गर्न सक्ने व्यक्ति नै अघि बढ्ने हो,” गुरुड.ले भन्नुभयो।
गुरुङ हालै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो । तर बीबीसीको जिज्ञासामा उहाँले ओलीसँग भएको छलफलबारे विस्तृतमा खुलाउनुभएन।
“त्यो सामान्य शिष्टाचार मात्रै हो। उहाँलाई बधाई दिन गएको हुँ,” उहाँले भन्नुभयो।

कांग्रेस गठबन्धनकै सरकार बन्ला ?
आगामी सरकार गठबन्धनकै बन्छ भन्नेमा कांग्रेस र माओवादी दुवै दलका नेताहरू पछिल्लो समय ढुक्न पर्न सकेका छैनन्।
माओवादी नेता गुरुङले कांग्रेससँग एजेन्डाकै विषयमा छलफल हुन बाँकी रहेको बताउनुभएको छ।
“नेतृत्वमा को भन्ने व्यक्ति हेरेर निर्णय गर्ने कुरा होइन। पहिले एजेन्डामा छलफल भएर एउटा टुङ्गोमा पुगेपछि व्यक्तिबारे छलफल गर्न सकिएला,” उहाँले भन्नुभयो।
कांग्रेस प्रवक्ता समेत रहनुभएका तथा प्रधानमन्त्री देउवाका विश्वासपात्र डा. महतले गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो।
“अहिले हाम्रो यही विश्वास हो,” उहाँले भन्नुभयो।
“हामी त्यसमा प्रतिबद्ध छौँ। सहभागी अरू दलहरू पनि त्यो कुराबाट विचलित हुनुहुन्न भन्ने आशा र विश्वास छ।”
गठबन्धनमा अप्ठ्यारोको लक्षण नदेखिएको दाबी गर्दै विकल्पबारे सोचिनसकेको उहाँको दाबी छ।
माओवादी केन्द्रसँग तालमेल गरेर वाम गठबन्धन वा कांग्रेससँग सहकार्य गरेर लोकतान्त्रिक गठबन्धन बन्नेमा एमाले पनि विश्वस्त नभएको ज्ञवाली बताउनुहुन्छ।
“हामी कांग्रेस र माओवादी दुवैसँग समदूरीमै छौँ,” उहाँले भन्नुभयो। (बीबीसीबाट)


















