काठमाडौं, १३ पौष । नेपालका विश्व विख्यात क्रिकेटर सन्दीप लामिछानेले नावालिगमाथिको यौन दूराचार मामिलामा सफाई पाउने संभावना बढ्दै गएको छ ।
यो मुद्दा हेरिरहेको काठमाडौं जिल्ला अदालतले मंगलवार सन्दीपलाई फसाउने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट अभिलेख झिकाउने आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको हो ।
लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार जिल्ला अदालत काठमाडौँले मङ्गलवार तीनवटा आदेश गरेको छ । अदालतको आदेशमा किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउने आदेश गरेको हो ।
किशोरीको जन्म हुँदा उनको परिवार वीरगञ्जमा रहेको र त्यहीँको नारायणी अस्पतालमा किशोरीको जन्म भएको दाबी गरिएको छ ।
सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो । त्यहाँ किशोरीको आमाको नाम उल्लेख गरिएको र छोरीको जन्म भएको भनेर अभिलेखमा उल्लेख गरिएको सन्दीपका वकिलले दाबी गरेका छन् । सो जन्म मिति आधिकारिक प्रमाणित भएमा जाहेरवाली किशोरीको उमेर १८ बर्षमाथि पुग्छ । सन्दीपमाथि लागेको नावालिगमाथिको यौन दूराचारको आरोपबाट सफाई मिल्छ ।
मङ्गलवारकै आदेशमा किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश भएको छ । जाहेरीपछि किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरले अब बकपत्रका लागि काठमाडौँ जिल्ला अदालतमा आउनुपर्नेछ । किशोरीको स्वास्थ्य जाँच घट्ना भएको दुई हप्ताभन्दा पनि पछि भएको थियो ।
त्यसैगरी किशोरी र सन्दीप लामिछाने दुवैका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बुझ्ने आदेश भएको छ ।
अधिवक्ता घिमिरेका अनुसार मङ्गलवारको सुनुवाइपछि यी तीन वटा विषयमा बुझ्ने आदेश भएको हो ।
एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो ।
लामिछानेविरुद्ध गत भदौ ५ गते राति र भदौ ६ गते बिहान सिनामंगलको एक होटेलमा यौनदूराचार गरेको आरोप लगाउदै एक किशोरीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
किशोरीको जाहेरीपछि प्रहरीले सन्दीपमाथि अनुसन्धान गर्दै काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो ।
प्रहरीले यौन दूराचारमा परेको दावी गर्ने किशोरीको उमेर १८ वर्षभन्दा कम भएको भन्दै लामिछानेलाई १० देखि १२ वर्षसम्मको कैद सजायको माग दावी गरेको छ तर सन्दीपका वकिलहरुले किशोरीको उमेर नाबालिक रहेको बताउदै सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार भन्न नमिल्ने तर्क दिंदै आएका छन् ।
अन्नपूणा राणाको अंश मुद्दामा उनको कुमारित्व परीक्षणको समेत माग गरिएकोमा सर्वोच्च अदालतले सहमतिमा भएको यौन सम्बन्धमा उजुर नलाग्ने र कारबाही वा दण्ड सजाँय गर्न नमिल्ने फैसला गरेको छ ।


















