काठमाडौं, १७ पौष । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एकापसमा गाभिएर आज (पुस १७ गते) देखि एकीकृत कारोबार सुरु भएको छ ।
दुवै बैंक गाभिएर बनेको बैंकको कारोबार कुमारी बैंक लिमिटेडबाट हुने छ ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कुमारी र एनसीसी बैंक एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व भागिएपश्चात् बन्ने संस्थामा सर्ने व्यवस्था गरेको छ । यस अनुसार दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार आजदेखि कुमारी बैंकको नामबाट सुरु भएको हो ।
गाभिएर बनेको बैंकको मुख्य कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा नै रहने छ ।
बैंकको सञ्चालकमा कुमारीका ३ र एनसीसीका ३ जना रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृृत रहदै आउनु भएका अनुभवी बैंकर रमेश अर्यालले सम्हाल्नु हुने छ भने कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाँल्दै आउनु भएका बैंकर रामचन्द्र खनालले बरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सम्हाल्नु हुने छ ।
मर्जरपछि बनेको कुमारी बैंक लिमिटेडको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।
गाभिएर एकीकृत कारोबार आरम्भ गरेको बैकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको हो ।
बैंकले पुस १७ गतेदेखि १५ दिनका लागि सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।


















