काठमाडौं, १७ कार्तिक । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ संस्करण सम्पन्न भएको छ।
आइतबार आयोजित प्रतियोगिताको पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन्।
प्रतियोगिताको पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो। त्यसैगरी, महिलातर्फको फाइनलमा साविक विजेता लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि रक्षा गरेको छ।
बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोली सहभागी भएका थिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो।
मुख्य प्रतियोगिताअघि नेपाल आर्थिक पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल विज्ञापन संघबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। उक्त प्रतिस्पर्धामा नेपाल आर्थिक पत्रकार संघ विजयी भएको थियो।
प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।
बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्य अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संस्थाका कर्मचारीलाई खेलकुदमार्फत एकै ठाउँमा जोड्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु प्रतियोगिताको उद्देश्य रहेको बैंकले जनाएको छ।
यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवकै अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ।







