विराटनगर(मोरड.), १७ पौष । प्रदेश १ को नव निर्वाचित प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ।
अधिवेशन दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी सभामा प्रदेश सभा नियमवाली २०७४ पहिलो संशोधन समेतलाई अगिंकार गरी बैठक संचालन गर्न प्रस्ताव प्रस्तुत हुने र प्रदेश नं १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन,संचालन र सेवाका सर्तहरु,सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्न अध्यादेश २०७९ सभामा सम्वन्धित मन्त्रीले टेवल गर्ने कार्यसुची रहेको छ।
निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम बुझाएको २० दिनमा पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बैठकको तयारी गरिएको हो। सोही अनुसार प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेश सभाको पहिलो अधिवेशन पुस १७ गते दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो।
प्रदेश सभाका जेष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाइँको अध्यक्षतामा बैठक सञ्चालन हुने छ ।
संविधानको धारा १८२ मा प्रदेशसभाको पहिलो बैठक भएको १५ दिनभित्र सभामुख र प्रदेश उपसभामुखमध्ये एक महिलाको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने सभामुख वा उपसभामुख फरक–फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था छ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा,एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन्।
गएको सोमबार प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले प्रदेश सांसदहरूलाई शपथ ग्रहण गराउनु भएका थियो।



















