बालुवाटार(काठमाडौं), १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर नयाँ सरकारका प्राथमिकताका बारेमा जानकारी दिएका छन् ।
प्रधानमनत्री ओलीले विदेशी कुटनीतिक प्रमुखहरुलाई साक्षी राखेरसरकारको पहिलो प्राथमिकता सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितहरुको संरक्षण भएको बताए । यो सरकारको प्रथम दायितव अन्तरगत नै पर्ने विषय हो । तर उनले भारतभ्रमणको पूर्व सन्ध्यामा यसलाई पनि उजागर गर्न चाहे ।
नेपाल कुनै पनि बाहृय देशको उपनिवेश नरहेको र सार्बभौमसत्ताको आफ्नो इतिहास कायम राखेको दावी गर्दै प्रधानमन्त्री ओलीले यसमा कुनै संझौता नहुने र सरकार राष्ट्रिय हितहरुको संरक्षण गर्ने बताए ।
बालुवाटारको कूटनीतिक भेलामा प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिवद्ध रहेको पनि बताए । बामगठबन्धनको सरकार र वामपन्थी दलहरुको एकीकरण प्रक्रियाबाट लोकतान्त्रिक पद्धतिप्रति खास गरी लोकतान्त्रिक मुलुकहरुका कुटनीतिज्ञ र सरकारमा रहेको संशय मेटाउन उनले यसको लामै व्यख्या समेत गरे ।
उनले लोकतन्त्रका लागि आफूहरुले लामो राजनीतिक संघर्ष गरेको भन्दै उनले भने, ‘लोकतन्त्र अपरिहार्य रहेको र यसलाई कसैले खोस्न नसक्ने दावी गरे ।
प्रधानमन्त्री ओलीले खास गरी यूरोपका समाजवादी मुलुकहरुले अंगीकार गरेको र अधिक सरोकार राखेको सामाजिक न्याय र समानताको विषयलाई पनि उल्लेख गरेका थिए ।
कुटनीतिक समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताविना दिगो विकासको कल्पना गर्न नसकिने बताए । उनले समाजका हरेक तहका मानिसहरुलाई समान अवसर दिइने बताउदै नेपाली समाजको विविधतायुक्त अनुरुप यसको कार्यान्वयन गरिने पनि बताए ।
प्रधानमन्त्री ओलीले संविधानले कसैमाथि पनि विभेद नगरेको र राज्यले आफ्ना नागरिकको मौलिक अधिकार संरक्षण गर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालले विगतमा राजिनीतिक स्थिरताको अभावमा विकासका अवसर गुमाएको उल्लेख गर्दै यो सरकारले स्थिरता र विकासलाई मुख्य प्राथमिकतामा पारेको उल्लेख गरे ।उनले त्यसलाई खलल पुर्याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए । प्रधानमन्त्री ओलीले नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेको पनि दावी गरे ।
प्धानमन्त्री ओलीले यूरोपेली यूनियनका हालैको गतिविधिलाई संकेत गर्दै विभिन्न बहानामा सामाजिक सद्भाव र एकता खलबल्याउने प्रयास भइरहेको भन्दै उनले नेपालमा द्वन्द्व र कलह भइरहोस् भन्ने चाहना राख्नेहरु समेत यदाकदा देखिने गरेको बताए ।। उनले नेपालको सार्वभौमसत्ता जनतामा निहित रहेको र उनीहरुले मात्र आफ्ना संवैधानिक र राजनीतिक मुद्दामा निर्णय गर्ने बताए।
प्रधानमन्त्री ओलीले सरकार सुशासनप्रति प्रतिवद्ध रहेको र सरकारको नीति तथा कार्यक्रमलाई यसले नै निर्देशित गर्ने उनले बताए । प्रधानन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति लिने पनि बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले जनताको आकांक्षा सम्बोधन गर्न वर्तमान सरकार हरतरहले समर्पित हुने पनि बताए ।उनले अब लामो राजनीतिक संक्रमणकाल अन्त्य भएको उल्लेख गर्दै सरकारको ध्यान जनताको इच्छा आकांक्षा पूरा गर्दै समावेशी र दिगो विकास हासिल गर्नु भएको बताएका छन् ।
उनले भने, ‘हाम्रो राजनीतिक परिर्वतनलाई टिकाई राख्न द्रुत आर्थिक विकास गर्ने चाहना छ ।’