Prakash Adhikari January 2, 2023

कीर्तिपुर(काठमाडौं), १८ पौष । फारवेस्ट युनाइटेडलाई ८२ रनले सहजै पराजित गर्दै जनकपुर रोयल्सले नेपाल टी २० लिगमा पाँचौ जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जनकपुरले दिएको १ सय ६२ रनको लक्ष्य फारवेस्टले पूरा गर्न सकेन । २० ओभरको निर्धारित खेल १५.१ ओभरमा सबै विकेट गुमाउदा उसले जम्मा ७९ रन जोड्न सक्यो ।

फारवेस्टका लागि कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन, राशिद खानले अविजित १७ तथा भिम सार्कीले १६ रन बनाए।

फारवेष्टलाई रोक्न जनकपुरका समिउल्लाह शिनवारीले सर्वाधिक ३ विकेट लिए भन सोमपाल कामी र पवन सर्राफले २ ।२ तथा शरफुद्दीन अशरफ, जितेन्द्र मुखिया र ललित राजवंशीले १ ।१ विकेट लिए।

यस पहिले टस हारेर ब्याटिंग रोजेको जनकपुरले २० ओभरमा ७ विकेट क्षतिमा १ सय ६१ रन बनाएको थियो ।

Image

जनकपुरका लागि सन्दीप जोराले प्रतियोगिताको दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५५ रन बनाए जुन क्रममा मात्र ३२ बलमा १ चौका र ५ छक्का प्रहार गरे। कप्तान ट्रेभोन ग्रिफिथले ३२, चाडविक वाल्टनले २४, शरफुद्दीन अश्रफले २० तथा राजेश पुलामीले १६ रन बनाए।

जनकपुरलाई रोक्ने क्रममा फारवेस्टका बलर प्रकाश जैसीले ३, भुवन कार्कीले २ तथा नुर एहमदले १ विकेट लिए।

जितपछि ७ खेलमा ५ जित र २ हार बेहोरेको जनकपुर १० अंक सहित दोश्रो स्थानमा छ। अंकतालिकाको पुछार अर्थात् छैठौं स्थानमा रहेको फारवेस्टको ६ खेलमा १ जित र ५ हारसहित मात्र २ अंक छ।

Share Now

Leave a comment.