Prakash Adhikari March 27, 2018

काठमाडौं, १३ चैत्र । मंगलबार शेयर बजारमा निकै उतारचढाव रह्यो । कारोबार खुलेपछि निरन्तर घटेर ११३५ अंक टेकेको नेप्से परिसूचक राष्टिय सभामा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले घट्दो बजारको बारमा सरकारको ध्यानाकृष्ट गरेपछि बढन गएको थियो ।

आज नेप्से परिसूचक सोमबारको तुलनामा ३९ दशमलव १६ अंकले बढेर १ हजार २ सय ७ दशमलव ७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

अर्थमन्त्रीले श्वेतपत्र मार्फत पूँजी बजारका समस्या समाधान गर्ने विचार चुहिएकोले यसले पनि लगानीकर्ताको मनोबल बढ्न गएको थियो ।

सोमबार नेप्से परिसूचक ५१ अंकले ओरालो लागेपछि इन्भेष्टर्स फोरमले बजार सुधारका १९ बुँदे माग राख्दै सात दिने अल्टिमेटम दिएको थियो । फोरमको अल्टीमेटम पर्छि अर्थमन्त्रालयका अधिकारीहरुले यसै साता जारी गर्ने श्वेतपत्र मार्फत सेयर बजारको समस्या समाधान गरिने सूचना चुहाएका थिए।

अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीले मुलुकको वर्तमान आर्थिक स्थिति र भविष्यमा चाल्नुपर्ने रणनीति समेटेर यसै साता सरकारले जारी गर्न लागेको श्वेतपत्रमा शेयर बजारसँगै बैंक तथा वित्तीय क्षेत्रलाई समग्र रुपमा समेटर विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिएका थिए ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न गएको नेपाल उद्योग परिसंघको टोलीले समेत औद्योगिक क्षेत्रको उत्पादन बृद्धिका लागि तरलता समस्या समाधान र ब्याज दर बृद्धिलाई संबोधन गर्न अर्थमन्त्रीसमक्ष माग राखेका थिए ।

अर्थमन्त्रीले उद्योगी व्यवसायीलाई तरलता समस्या समाधान गर्दै ब्याज दरमा आवश्यक सहजीकरण गर्ने बताएपछि यसको प्रभाव पनि सेयरबजारमा देखिएको हो ।

सरकारले आर्थिक सुधारका प्याकेज घोषणा गर्ने संभावनालाई हेरेर घट्दो बजारबाट शेयर किनेर बढ्दो बजारमा बेच्ने अल्पकालीन लगानीकर्ताहरु सक्रिय हुँदा आज सेयर कारोबार ५० करोड नाघेको छ ।

मंगलबार १६६ कम्पनीको ५० करोड ६१ लाख २६ हजार ७०३ रुपैयाँको शेयर किनबेच भएको छ । जसमध्ये नेपाल लाईफ इन्स्योरेन्सको १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । त्यस्तै नबिल बैंकको २ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोडमाथिको शेयर कारोबार भएको छ ।

बजार ३९ अंकले उकालो लाग्दा छ कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । जसमध्ये एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ओरियन्टल होटल, राधी विद्युत कम्पनी, राष्ट्रिय बीमा कम्पनी, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र प्राइम लाईफ इन्स्योरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

मंगलबार ट्रेडिङ बाहेकका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये बीमा समूह सबैभन्दा बढी २९३ दशमलव ८६ अंकले बढेको छ । त्यस्तै होटल समूह १२६ दशमलव २६ अंकले, बैंकिङ समूह ३३ दशमलव २७ अंकले, विकास बैंक ४१ दशमलव ७ अंकले, जलविद्युत समूह ६१ दशमलव ७७ अंकले, लघुवित्त समूह ६५ दशमलव ५ अंकले, उत्पादन तथा प्रशोधन समूह १४ दशमलव ७६ अंकले, अन्य समूह ३ दशमलव ८८ अंकले र फाइनान्स समूह २ दशमलव ४३ अंकले बढेको छ । गिरावट आएको ट्रेडिङ समूह ३ दशमलव १३ अंकले घटेका छन् ।

Share Now

Leave a comment.