काठमाडौं , २५ पौष । नेपाल टी २० लिग अन्तरगत आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउदै विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको इलिमिनेटर खेलमा विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा सबै विकेट गुमाउदै ८३ रन मात्र जोड्यो ।
प्रतियोगितामा काठमाडौंका लागि अविनाश बोहोराले १६ रन कप्तान ज्ञानेन्द्र मल्लले १५, ओपनर लोकेश बमले १३ र कमल ऐरीले १० , सन्तोष कार्कीले ८, बसिर अहमदले ५, सन्दीप रजाली र सुनाम गौतमले ४ । ४, सौरभ खनाल र अनिल खरेलले १ । १ रनको योगदान दिए ।
काठमाडौंलाई सस्तैमा समेट्न विराटनगरका सूर्य तामाङले ४ ,शाहब आलम र कोओन जोसेफले २।२ तथा हुसेन टलटले १विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ रन बनाए ।उनी प्लेयर अफ द म्याच घोषित भए । विवेक यादवले ४६, हुसेन तलतले ३८ र राज नाननले १३ रन बनाए । यस्तै अर्जुन साउदले २ र पृथु बास्कोटाले १ रन बनाए ।
बलिङमा काठमाडौंका अनिल खरेल र कमल सिंह ऐरीले २ । २ तथा अविनाश बोहोरा र गौतम केसीले १।१ विकेट लिए ।
जितसँगै विराटनगरले फाइनलमा स्थान बनाउन जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित काठमाडौं लिगबाट बाहिरिएको छ । लुम्बिनी अल स्टार यसअघि नै फाइनलमा पुगिसकेको छ ।
लिगमा काठमाडौँ नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता थियो । फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिएका छन् ।
२७ पौषसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
लिगको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान २ लाख ५० हजार, उदीयमान खेलाडीलाई १ लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।


















