धनगढी(कैलाली),२७ पौष । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुनुभएको हो ।
रावल कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकोे हो । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ ।
बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको भएपनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो ।
रेशम चौधरीको रिहाइ सहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको अडान थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो ।


















