Prakash Adhikari January 11, 2023

काठमाडौं, २७ पौष। नेपाल क्रिकेट एशोसिएसनद्धारा आयोजित नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।
आज भएको फाइनल खेलमा १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो ।

लिगमा लगातार ३ खेल खेलेको विराटनगरका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। विराटनगरका सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनर अर्जुन साउद ३४ रनमा पवेलियन फर्के। पृथु बास्कोटा ३१ रनमा बोल्ड आउट भए। हुसैन तलात १३ रनमा रनआउट भए।

विराटनगरलाई रोक्ने क्रममा लुम्बिनीका हरमित र सागर ढकालले समान २ । २ तथा विपुल शर्मा र किशोर महतोले १।१ विकेट लिए।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी अल स्टार्स ४ बल अगावै १ सय ३३ रनमा अलआउट भयो।

लुम्बिनीका लागि हरमित सिंह ३० रन, लाहिरु मिलन्थाले ४१ रन,कुशल भुर्तेल १ रन, कप्तान दिपेन्द्र सिंह ऐरी २०, इसान पाण्डे १८ रन, विपुल शर्माले ५, गुल्सन झाले ३ तथा सेड्ली भानले १ जोडेका थिए।

लुम्बिनीका ७ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

लुम्बिनीलाई रोक्ने क्रममा विराटनगरका नन्दन यादव र राज नन्दनले समान २ विकेट लिए। कियोन जोसेप, सूर्य तामाङ र रोहित पौडेलले एक एक विकेट लिए।

लिग चरणका ८ खेलमा जित र २ खेलमा हार भाग्दै क्वालिफायरमा स्थान बनाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइलनमा स्थान बनाएको थियो।

विराटनगरले पहिलो एलिमिनेटर खेलमा खेलमा काठमाडौ किंग्सलाई ९९ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। दोस्रो क्वालिफायरमा जनकपुरलाई ३९ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

लुम्बिनीले उपाधिसँगै ५० लाख रुपैयाँ प्राप्त गरेको छ । १३ खेल खेल्दा ६ खेलमा हार ब्यहोरेको उपविजेता विराटनगरले ३० लाख हात पार्यो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ ।

सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडी

नेपाल टी २० लिगको पहिलो संस्करणको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ ।

योसँगै विभिन्न विधामा उत्कृष्टहरुको घोषणा भएको छ। यसअनुसार प्लेयर अफ दि टुर्नामेन्ट, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर, उदीयमान खेलाडीको घोषणा भएको हो।

‘प्लेयर अफ दि टुर्नामेन्ट’: हुसैन तलात, ५ लाख

विराटनगर सुपर किंग्सका हुसैन तलात नेपाल टी२० लिगको ‘प्लेयर अफ दि टुर्नामेन्ट’ बनेका छन्।

हुसैनले लिगका १३ खेलमा ३६७ रन बनाएर १० विकेट झारे। लिगमा सर्वोत्कृष्ट खेलाडी बनेका उनले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

उत्कृष्ट बलरः अविनाश बोहोरा ,२ लाख ५० हजार
नेपाल टी २० लिगमा १९ विकेट लिएका अविनाश बोहोरा लिगको उत्कृष्ट बलर बनेका छन्।

काठमाडौ किंग्सका अविनास बोहोराले लिगको ११ खेलमा उनले १९ विकेट लिएका हुन्। उत्कृष्ट बलर बनेका अविनासले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

उत्कृष्ट ब्याटरः हस्मतुल्लाह शाहिदी (फारवेष्ट), २ लाख ५० हजार
फारवेष्ट युनाइटेडका हसमतुल्लाह शाहिदी नेपाल टी २० लिगको उत्कृष्ट ब्याटर बनेका छन्।

लिगको १० खेलमा ४ सय रन हानेका उनले व्यक्तीगत उपाधिसँगै २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

उदीयमान खेलाडी :  सुर्य तामाङ, १ लाख ८० हजार
विराटनगरका सूर्य तामाङ नेपाल टी २० लिगको उदीयमान खेलाडी बनेका छन्।

लिगमा सूर्यले ८ खेलमा १२ विकेट लिएका थिए। उदीयमान खेलाडी सूर्यले १ लाख ८० हजार रुपैयाँ पाउनेछन्।

Share Now

Leave a comment.