Prakash Adhikari January 13, 2023

 

काठमाडौँ, २९ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको नेतृत्व गर्दै सरकारमा जाने हुनुभएको छ ।
लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुने निश्चित भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे मोटामोटी सहमति भइसकेको छ । सो सहमतिलाई गठबन्धन बैठकबाट अन्तिम रूप दिइएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुल्नेछ ।

ओली र प्रचण्डबीचको छलफलमा राप्रपाले मागेअनुसार उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिनेबारेमा सहमति जुटेको बताइएको छ । राप्रपाले ऊर्जासहितका तीन मन्त्रालय मागेको बताइएको छ ।

राप्रपाले यसअघिकै कार्यसम्पादन समितिको बैठकबाट एक दर्जन हाराहारीमा माग राखेको थियो । त्यो मध्ये कतिपय विषय सरकारको नीति तथा कार्यक्रमबाट सम्बोधन भइसकेको छ । पार्टी अब सरकारमा जाने बारेम भने पार्टीमा बैठक राखेर निर्णय हुने बताइएको छ ।

राप्रपाको माग अनुसार नै सरकारले पृथ्वी जयन्तीमा बिदा दिएको थियो भने भ्रष्टाचार र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

१४ सिट रहेको राप्रपाबाट लिङ्देनबाहेक अरु को–को मन्त्री बन्ने भन्नेबारेमा भने स्पष्ट भइसकेको छैन ।

पुस १० गते प्रचण्डले १ सय ७० सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्दा राप्रपाले पनि समर्थन गरेको थियो । ्र

Share Now

Leave a comment.