काठमाडौं, २९ पौष । बागमती प्रदेशसभामा सभामुख चयनका लागि आज चुनाव हुँदै छ।
बिहान ११ बजे मतदान प्रक्रिया सुरु हुने कार्यक्रम छ। सभामुख पदमा तीन जनाको प्रतिस्पर्धा हुने भए पनि सत्तारुढ दलबीच कुनै खटपट नभए राप्रपाका नेता भुवन पाठक सभामुखमा विजयी हुने निश्चितजस्तै छ।
सत्तापक्षमा स्पष्ट बहुमत रहेकाले पाठक विजयी हुने आकलन गरिएको हो।
यस प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई ७० जना सांसदले समर्थन गरेका छन्। बहुमतका लागि ५६ जनाले पुग्ने भए पनि ७० सांसदले उहाँलाई समर्थन गरेका हुन्।
बागमती प्रदेशसभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता गरिएको छ। सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकिपाका तर्फबाट तीन जनाले सभामुख हुन उम्मेदवारी दर्ता गराउनुभएको छ।
सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ।
सैंजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाई र समर्थकमा गिता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार हुनुहुन्छ।
यसैगरी गठबन्धनका पाठकको प्रस्तावकमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल हुनुहुन्छ।


















