Prakash Adhikari January 13, 2023

काठमाडौं, २९ पौष । नबिल बैंकको ३८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

यही पौष २९ गते काठमाडौंको सिल्भर ओक पार्टी प्यालेसमा सम्पन्न साधारण सभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेर र नेपाल राष्ट्र बैंकको स्वीकृतिमा आव २०७८ । ७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

३८ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले यस वर्ष पनि ‘क’ वर्गको बैंकहरुमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ ।

साधरणसभाले संस्थापक सेयरधनी समूह तर्फका ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०७८ । ७९ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गरेको बैंकले जनाएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी यस वर्ष २७ अर्ब नाघेको छ ।

साधारण सभामा अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको बताउनुभयो ।

उहाँले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बैंकले स्थापनाकालदेखि हालसम्म १९ अर्ब भन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ ।

Share Now

Leave a comment.