
काठमाडौं, २९ पौेष। राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् ।
उच्च अदालत पाटनले बिहिबार दिएको आदेश अनुरुप २० लाख धरौटी बुझाएर उनी थुनामुक्त भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सन्दीपलाईृ थुनामुक्त गर्ने अदालती प्रक्रिया पुर्याउन केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो ।
बिहिबार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले सन्दीपलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
थुनामुक्त भएका सन्दीपले अब काठमाडौं उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ । साथै पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।
गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीपविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।
सन्दीपका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । सन्दीपमाथि नाबालिग किशोरीलाई यौनदूराचार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको थियो ।
सन्दीपले भने आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बयान दिइरहेका छन् ।
सन्दीपलाई गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
माघ ९ गते पेशी
उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेशी माघ ९ गतेलाई तोकिएको छ।
क्रिकेटर लामिछानेमाथि लागेको बालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले ९ माघका लागि पेशी तोकिदिएको हो।
उक्त पेशी अनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौंले अन्तिम टुंगो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ। जिल्ला अदालतले उहाँलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्धा लडन बिहिवार उच्च अदालत पाटनले आदेश दिएको थियो ।
सो आदेश लगत्तै शुक्रवार नै लामिछाने केन्द्रिय कारागरवाट रिहा भएका छन् ।