पोखरा(कास्की), २ माघ । पोखरामा आइतबार भएको यती एयर दुर्घटनामा उद्धार कार्य आज बिहानैदेखि सुरु भएको छ ।
दुर्घटनाको दिन राति अबेरसम्म ६८ जनाको शव संकलन गरिएकोमा बाँकी ४ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनास्थल सेती खोंच भएकोले उद्धारमा कठिनाइ भएको उद्धारकर्ताहरुले बताएका छन्।
आइतवार संकलित शवमध्ये २६ जना मृतकको पहिचान भएको छ । पहिचान भएका शव आजमात्र आफन्तलाई जिम्मा लगाइने भएको छ ।
दुर्घटनास्थलमा फेला परेकामध्ये ६३ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) ल्याइएकोमा २६ जनाको सनाखत भएको छ । कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले अन्यको सनाखत हुन बाँकी रहेको जानकारी दिनुभएको छ ।
सनाखत भएकाहरुमा पोखरा १३, काहुँडाँडाका २७ वर्षे निशान्त आचार्य, पोखरा १७ घर भइ हाल बालाजु बस्ने संगतिा शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ, पोखरा ४ कै डा. सोना दिवाकर, पर्वतको कुष्मा १ की १० वर्षे रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा १९, बाटुलेचौरकी लक्ष्मी पौडेल, पर्वत कुस्मा ९ कटुवा चौपारीका ४६ वर्षे अरुण पौडेल, उहाँका ११ वर्षे छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षे विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल, अन्दाजी ३४ वर्षका रक्की गुरुङ हुनुहुन्छ ।
यस्तै, रुपन्देही शंकरनगर ८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, पत्रकार त्रिभुवन पौडेल, कावासोती ६ का ३५ वर्षे मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पनि शवको पहिचान भैसकेको छ ।
शव पाइएका तर पहिचान नभएकाहरुको डीएनए परीक्षण गरी पहिचान गरिने भएको छ। त्यसका लागि शवको नमूना सोमबार नै काठमाडौं पठाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो ।
काठमाडौंदेखि पोखराका लागि उडेको यति एअरलाइन्सको विमानमा चालक दलका ४ सहित ७२ यात्रु सवार थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको लागि मोडिने समयमा सन्तुलन गुमाएको विमान आइतबार बिहान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।


















