Prakash Adhikari January 16, 2023

पोखरा(कास्की), २ माघ । पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभएको छ।

“ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो”, उहाँले भन्नुभयो।

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा हुने उपकरण हो । यसबाट विमान दुर्घटनाको कारण पत्ता लाग्दछ ।

“कुन उपकरणको कस्तो अवस्था थियो भन्नेचाहिँ त्यो ब्ल्याक बक्सले बताउँछ। कुन भागको सङ्केत के थियो। अचानक आएको समस्या हो कि। बाहिरी वा आन्तरिक कारणले भएको हो भन्ने बताउँछ,” जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले भन्नुभएको छ ।

“यसले दुर्घटनाको जाँचबुझमा धेरै नै सहयोग पुर्‍याउँछ।”

यो जहाजमा हुने ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा निकै महत्त्वपूर्ण हुने लामिछाने बताउनुहुन्छ।

ब्ल्याक बक्स के हो ?

विमान दुर्घटना

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ।

ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ।

विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।

“दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,” एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भन्नुभयो।

प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन्। तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन्।

फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर
उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ।

यती एअरलाइन्सको विमान दुर्घटना
फ्लाइट डेटा रेकर्डर
फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ। त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो(पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ।

“कुनै उपकरणले काम गरिरहेको थिएन भने त्यो कुरा यसमा नोट हुन्छ र त्यसबाट विमानको प्राविधिक पक्षको विश्लेषण गर्ने हो,” सुमनले भन्नुभयो।

तर कतिपय साना र ट्विनअटर विमानमा यो हुँदैन। यसअघि मुस्ताङमा दुर्घटनामा परेको तारा एअरको ट्विनअटर विमानमा यस्तो उपकरण थिएन।

ककपिट भोइस रेकर्डर
ब्ल्याक बक्स

ब्ल्याक बक्स

यसमा सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन्छ।

यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ।

यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्सेन्टको रेकर्ड हुने सुमन बताउँनुहुन्छ।

दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा सङ्ग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन्।

“पाइलटले के बोल्यो, के सुन्यो, केही खराबी थियो भने को‍(पाइलटलाई जानकारी दियो कि दिएन, यात्रु र टावरलाई दियो कि दिएन त्यो कुराहरूको आवाज सुनेपछि धेरै थाहा हुन्छ,” यसअघिको तारा एअर दुर्घटना जाँचबुझ समितिका संयोजक समेत रहेका सुमनले भने।

‘पहिले विदेश धाउनुपर्थ्यो’
विमान दुर्घटना
पुराना जहाजहरूमा म्याग्नेटिक टेपमा यस्तो आवाज रेकर्ड हुन्थ्यो र सुन्नका लागि विदेश जानुपर्ने बाध्यता थियो।

नागरिक उड्डयन प्राधिकरणको हवाई दुर्घटना अनुसन्धान शाखामा लामो समय काम गरेका इन्जिनियर सुमनले आफू सन् १९९२ मा घोप्टेभिरमा दुर्घटना भएको थाई एअरको सीभीआर लिएर क्यानडा गएको बताउनुभयो।

“म आफैँ ब्ल्याक बक्स लिएर क्यानडा र फ्रान्स गएको छु। तर अहिले धेरै काम नेपालमै हुन्छ,” उहाँले भन्नुभयो।

पछिल्ला विमानहरूमा यस्तो आवाज डिजिटल माध्यममा रहने र नेपालमै सुन्न सकिने सुमनले बताउनुभयो।

पछिल्लो समय नेपालमै ब्ल्याक बक्सको विश्लेषण हुने भए पनि फ्लाइट डेटा रेकर्डरको कतिपय अध्ययनका लागि विदेशी विशेषज्ञहरूको पनि सहयोग लिने गरिएको छानबिन समितिका सदस्यसचिव लामिछानेले बताउनुभयो।

डेटा विश्लेषण गर्ने ‘प्रोग्राम’मा राखेर हेरेपछि कतिपय अवस्थामा दुर्घटनाको कारण थाहा हुने उनी बताउँछन्।

“दुर्घटना नहुँदै पनि विमानको स्वास्थ्य अवस्था परीक्षणका लागि र मर्मतका लागि पनि यसको प्रयोग र विश्लेषण गर्ने गरिएको छ,” उहाँले भन्नुभयो।

दुर्घटना अनुसन्धानमा ब्ल्याक बक्सको महत्त्व
काठमाण्डूको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भासिएको टर्किश एअर दुर्घटना, काठमाण्डूको विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यूएस बाङ्ग्ला एअरसहित धेरै हवाई दुर्घटनामा ब्ल्याक बक्सले वास्तविकता पत्ता लगाउन सहयोग गरेको लामिछानेले बताउनुभयो।

“हो यूएस बाङ्ग्लाको दुर्घटनामा गलत एप्रोच गरेको हो। गलत दिशाबाट अवतरण गर्न खोजेको हो भन्ने यसले देखायो,” सुमनले थप्नुभयो।

लुक्ला विमानस्थलमा भएको समिट एअरको विमान दुर्घटना अध्ययनमा पनि ब्ल्याक बक्सले घटनाको कारण पत्ता लगाउन सहयोग गरेको लामिछानेले उल्लेख गर्नुभयो।

कहिलेकाहीँ कुनै कुरा निश्चित गर्न पनि ब्ल्याक बक्सले सहयोग गर्ने उहाँहरूले बताउनुभयो।(बीबीसीबाट)

Share Now

Leave a comment.