कावासोती(नवलपुर सुस्तापूर्व), १२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको बासा बसाई क्षेत्रमा पीच सुरु भएको छ ।
आयोजनाले २३ प्रतिशत मात्र काम पूरा भएको जनाएको छ । हालसम्म नारायणगढ–बुटवल सडकको प्याकेज–१ मा २२ प्रतिशत र प्याकेज–२ मा २३ प्रतिशत काम भएको छ ।
गैँडाकोटमा १ सय १० मिटर परीक्षण कालोपत्रे पनि सम्पन्न भएको छ ।
बुटवल–नारायणगढ खण्डको १ सय १४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवम् ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ । १ सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ ।
पुल निर्माणमा तीव्रता
विभिन्न ठाउँमा ठूला तथा साना पुल निर्माणलाई तीव्रता दिइएको छ । दाउन्ने–गैँडाकोट खण्डमा २ सय १५ वटा साना पुल (कल्भर्ट)‚ २२ वटा मध्यम पुल (माइनर ब्रीज) र २५ मिटरभन्दा लामा १२ वटा ठूला पुल पर्दछन् ।
जसमध्ये ८० वटा साना पुल पूर्णरुपमा सम्पन्न भएका छन् । ६० वटा पुल आंशिक रूपमा सम्पन्न भएका छन् । दाँयाबाँयाको काम भएको र बीचको काम बाँकी रहेको छ । त्यसैगरी २५ वटा पुलको काम सुरु भएको चाइना स्टेट कन्स्ट्रक्सनका डेपुटी कनट्याक्ट म्यानेजर राजेश झाले बताउनुभयो ।
यहाँका जयश्री, पत्थरखोला, बौलाह खोला र लोकाहखोला पुल लगायतको निर्माण कार्य अघि बढेको छ । लोकाहा र डन्डाको पत्थरखोला पुल वर्षायामअघि नै गाडी गुडाउन मिल्ने बनाउने लक्ष्यका साथ काम भइरहेको सडक इन्जिनियर र झाले बताउनुभयो ।उहाँका अनुसार ४ वटा पुलको जग हाल्ने काम बाँकी छ ।
प्राविधिक रूपमा असहज भएकाले पनि यी पुलको जग हाल्न नसकिएको बिलम्ब भएको हो । पुल निर्माण भइरहेको स्थानमा डाइभर्सन (वैकल्पिक सडक) बनाएर काम अघि बढेको छ ।
नारायणगढ–बुटवल सडक योजनाको पूर्वीखण्डका ८ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ । भूबनावटका कारण राजमार्गका विभिन्न ठाउँमा साना कल्भर्ट (सेतुमार्ग) निर्माण भएका छन् ।

आयोजनाले अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशत मात्रै सकिएको छ झाले भन्नुभयो, “विद्युत् पोल सार्ने काम ३० प्रतिशत मात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको छ ।
”
गत पौष २० गते गृहमन्त्रालयले एक्कासी अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय हुँदा यस क्षेत्रका कैयौ क्रसर उद्योग बन्द हुन पुगेका थिए । त्यसको कारण निर्माण सामग्रीको अभावमा सडक निर्माणमा अवरोध आएको आयोजनाले जनाएको छ ।
विगतमा रुख कटानमा वनको असहयोगले आयोजनाले ठूलो समस्या झेल्नु परेको थियो भने विद्युत प्राधिकरणले सडक विस्तार क्षेत्रमा रहेका विद्युतका पोलहरु नसारिदिंदा पनि आयोजना विलम्बित हुन पुगेको थियो । सडक विभागले आयोजना ठेक्कामा लगाउनुपूर्व आयोजना क्षेत्रको बनका रुख कटानको स्वीकृति र आयोजना क्षेत्रका पोलहरु विद्युत प्राधिकरणलाई हटाउन लगाएको भए आयोजनाको प्रगति दुईगुणा बढी भैसक्ने आयोजनाका प्राविधिकहरुले बताएका छन् ।
नारायणगढ- बुटबल सडक खण्ड अन्तर्गत १ सय १३ किलोमिटर सडक सडक विस्तार र स्तरोन्नति गर्ने गर्ने यो आयोजना २०७५ चैत ८ गते उद्घाटन गरिएको थियो। तर ठेकेदारले एक बर्ष काम गर्न नपाउदै कोरोनाको विश्व महामारी शुरु भयो । २०७६ चैत ११ गतेदेखि नेपालभर लकडाउन सुरु भएकोले यो आयोजनालाई निकै असर पर्र्यो । कोरोनाकै कारणले दुईबर्षभन्दा बढी समय त अन्य आयोजनासरह यो आयोजनाले गति लिन पाएन ।
कोरोनाको कारण समयमा काम गर्न नपाएको आयोजनाको ठेकेदार गतबर्षदेखि युक्रेन युद्धको कारण फलामजन्य निर्माण सामग्रीको अभावले जकडिन पुग्यो । निर्माण सामग्रीको अभाव,चर्को मूल्यबृद्धि र पेट्रोलियम पदार्थको मूल्य बृद्धिको असर खेपिरहेको ठेकेदारले कोरोनाको कारण काम गर्न नकिएको समय थप गर्न माग गरेको थियो । सो अनुरुप सरकारले एक बर्ष समय थप गरेको छ । काबूबाहिरको परिस्थिति मानिने कोरोना महामारीको कारण थपिन गएको निर्माण सामग्रीको मूल्य र पेट्रोलियम पदार्थको मूल्यबृद्धिको भार भने अहिले ठेकेदारमाथि नै परेको छ ।

चिनिया ठेकेदार र कामदार भएका आयोजनामा बर्षको ३ पटक कामदारले छुट्टि लिने गर्दछन् । चिनिया नयाँ बर्षको अवसरमा जनवरी २१ देखि २७ सम्म स्प्रिड. फेस्टिवलमा विदा हुन्छ । यो बेला बाहिरिएका चिनिया स्वदेश फर्कन्छन् । जो स्वदेश जान पाउदैनन्। उनीहरु आफू रहेको स्थानमा चिनियाहरु बढी जमघट हुने ठाँउमा भेला हुन्छन् । दिनभर खाने पिउने नाच्ने र रमाउने गर्दछन् । अरु लामा विदा मे १ देखि ४ दिन श्रमिक दिवस हुन्छ र नेशनल डे सेप्टेम्बर ३० देखि अक्टोबर ६ मा मनाइन्छ । श्रमिक दिवस र नेशनल डेलाई भने गोल्डन वीक फ टुरिज्म भनिन्छ ।
यी समयमा चिनिया ठेकेदार र चिनिया कामदार आयोजना निर्माणस्थलमा नभेटिनु स्वभाविक मानिन्छ ।
नारायणगढ- बुटबल १ सय १३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने आयोजनालाई दुई खण्डमा विभाजित गरिएको छ । नारायणगढ- बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज-१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज-२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम हुँदैछ ।एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ ।
गैंडाकोट-दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । २०७५ पुसमा ४ बर्षमा निर्माण कार्य सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।


















