काठमाडौं, १३ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) आज निर्धारित दोस्रो खेलमा विराटनगर किंग्स्ले ३५ रनले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ ।
विराटनगरले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा छोट्याएको खेलमा ३ विकेटको क्षतिमा जम्मा ७० रन मात्र जोड्न सक्यो ।
सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजेनले २८, आरिफ शेख र सैफ जायबले १७ । १७ र कप्तान दीपेन्द्रसिंह ऐरीले १ रनको योगदान दिए । सफरन रदरफोर्ड डक आउट भए । सुदूरपश्चिमले २ वाईँ, २ लेगवाई र ३ वाईडबाट ७ अतिरिक्त रन जोड्यो ।
यस अगाडि ओसिलो मैदानको कारण ५ ओभरमा सीमित गरिएको खेलमा विराटनगरले २ विकेटको क्षतिमा १ सय ५ रन जोडेको थियो ।
विराटनगरको लागि ओपनर सेहन जयसुरियाले ३९ रन, आन्द्रे रसेलले नटआउट २९ र लोकेश बमले २५ रनको योगदान दिए । उसले एक्स्ट(चार बाई, एक नोबल र ७ वाईड)बाट १२ रन जोडेको छ ।
विराटनगरलाई रोक्ने क्रममा सुदूरपश्चिमका अभिनास बोहोराले २ विकेट लिए ।
हिजो रातभर र मध्यान्हसम्म पानी परेकोले आज निर्धारित लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल रद्द भएको थियो । मौसममा सुधार भएर मैदान सफा गरेर सुख्खा बनाएपछि दुवै टोलीबीच खेल सुरु गर्ने विषयमा सहमति जुटाउन समय लागेकोले आज अबेर राति खेल आरम्भ भएको हो । दुवै टोलीबीच ५ ५ ओभरको खेल खेलाउने सहमति कायम भएपछि मात्र टस भएको हो ।
खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको थियो। योसँगै विराटनगर किंग्सले पहिला ब्याटिङ गरेको हो।
सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो।
लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने चेतावनी दिएपछि अन्ततः सुदूरपश्चिम खेल्न तयार भएको थियो।
जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ।
यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।







