काठमाडौं, १२ माघ । नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै विभागका निर्देशक डा.राम मैनालीलाई सम्मान गरेको छ ।
बिहीबार चेम्बरले ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक डा. मैनालीलाई सम्मान गरेको हो ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थ सचिव तोयम रायले प्रमाणपत्रसहित निर्देशक मैनालीलाई सम्मानित गर्नुभयो ।
अर्थ मन्त्रालयमा लामो समय काम गर्नुभएका मैनाली यसअघि रसुवा भन्सार प्रमुखका रूपमा हुनुहुन्थ्यो । अर्थ मन्त्रालयले भ्याट प्रणाली लागू गर्दा उहाँले पनि योगदान पुर्याउनुभएको थियो ।
भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।


















