काठमाडौं,१५ चैत्र । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।
नयाँ संविधानले निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ९५ को उपधारा(२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ । सो धाराको उपधारा(१) राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था छ ।
यही संवैधानिक व्यवस्था अनुसार, चैत १२ को मन्त्रिपरिषद् बैठकले सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गरेको थियो । सरकारले गरेको आग्रह अनुसार, राष्ट्रपतिले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।
संघीय संसद् सचिवालयले अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुवै सदनको संयुक्त बैठक हुने जानकारी दिएको छ ।
आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रमका लागि आगामी अधिवेशनमा राष्ट्रपतिबाट अलग्गै सम्बोधन हुनेछ ।
संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारीलाई घोडाको बग्गीमा संसद भवनमा ल्याउने तयारी भएको छ ।
संसद भवनको प्रवेशद्धारमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले राष्ट्रपतिको स्वागत गर्नेछन् ।
बैठक कक्षमा राष्ट्रपतिले आसन ग्रहण गरेपछि प्रधानमन्त्रीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नेछन् ।
सम्बोधनपछि बैठक समाप्त हुने भएकाले अन्य कार्यसूची हुने छैन ।
सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।
सरकारले सम्बोधनको मस्यौदा राष्ट्रपतिसमक्ष बुझाइसकेको छ ।