काठमाडौं, १५ चैत्र। चिनियाँ राजदूत यु होङले बुढीगण्डकी आयोजनमा नेपाल सरकारले लिएको अस्थिर नीतिले चीनका लगानीकर्ता झस्केको बताएकी छन् ।
ऊर्जामन्त्री वर्षमान पुनसँग बुधबार भएको भेटमा उनले बुढीगण्डकी आयोजनामा सरकारको पछिल्लो दृष्टिकोण के छ भनेर जिज्ञाशा समेत राखेकी थिइन् ।
राजदूत होङले सीजीजीसीलाई दिएको बुढीगण्डकी आयोजना फिर्ता गर्ने नेपाल सरकारको निर्णयले चिनियाँ कम्पनीहरु नेपालमा लगानी गर्न हच्किएको पनि बताइन् ।
‘सरकारी कम्पनीले पाएको ठेक्का सरकारले नै रद्ध गर्दा हामी पनि चिन्तित छौं,’ होङले भनेकी छिन्,’वर्तमान सरकारले यसबारेमा के सोचेको छ रु हामी जान्न चाहान्छौं ।’
उनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीन सरकार र त्यहाँको निजी क्षेत्र इच्छुक रहेको भन्दै त्यसका लागी सरकारले पनि उपयुक्त वातावरण बनाउनपर्ने बताइन् ।
राजदूत होङले वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनियाँ लगानीकर्ता नेपालमा आउने सम्भावना पनि बढेको बताइन् ।
उनले चिनियाँं कामदारको भिसा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राखेकी छन् ।
अहिले चिनियाँ कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र ३ वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको बताएकी छन् ।
उनले ऊर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी दिएकी छन् । त्यसका लागि नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दीर्घकालिन रुपमा दुवै देशलाई फाईदा पुग्ने विश्वास समेत व्यक्त गरेकी छन् ।
भेटमा मन्त्री पुनले भने चिनिया लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आफूले समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । मन्त्री पुनले रसुवा(केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले विजुली आयात र निर्यातमा दुवै देशलाई फाईदा पुग्ने धारणा व्यक्त गरेका छन् ।
राजदूतसँगको भेटमा मन्त्री पुनले ठुला आयोजना निर्माणको लागीे चीनबाट ऋण सहयोग र सहायताको विषयमा समेत छलफल गरेका छन् ।