आबुधावी(यूएई), २१ माघ । कतारमा रहेका एक प्रवासी नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८१ करोड भन्दा बढी नेपाली रुपैया जित्नुभएको छ ।
कतारको एक मनि एक्सचेन्जमा काम गर्ने रणजित पालले गएराति भएको लक्की ड्रमा उक्त रकम जितेको गल्फ न्यूजले जनाएको छ । पालले जनवरी १६ मा २३२९३६ नम्बरको विजयी टिकट किन्नुभएको थियो ।
पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आउनुभएको थियो ।
आबुधाबीमा रहेको बिग टिकट ड्रले आफ्नो वर्षको पहिलो प्रवर्द्धनमा २ करोड ३० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।
जसमा ठूला टिकटका ग्राहकहरू पनि साप्ताहिक इलेक्ट्रोनिक ड्रमा स्वतः सहभागी हुन पाउने थिए ।
उक्त पुरस्कारका अतिरिक्त, दोस्रो पुरस्कार १० लाख दिराम, र तेस्रो पुरस्कार १ लाख दिराम र चौथो पुरस्कार ५० हजार दिराम घोषणा गरिएको छ ।
मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्।


















