Prakash Adhikari February 6, 2023

इस्तानबुल(टर्की), २३ माघ । टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्प गएपछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या २ हजार निकट पुगेको छ ।

टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १२ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७ सय ८३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पका कारण कैयौँ भवनहरू भत्किएका थिए।

उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ।

उक्त भूकम्पको धक्का लेबनान र गाजामा समेत महसुस गरिएको थियो।

टर्कीले सङ्कटकालको घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

भूकम्पको केन्द्रविन्दु

भूकम्पको केन्द्रविन्दु

 

राष्ट्रपति रेजेप तयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भन्नुभएकोे छ, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ।”

उहाँले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताउनुभयो।

भूकम्प गएको स्थान दक्षिण(पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमा नजिकै पर्छ।

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प

क्षतिको विवरण आउने क्रम जारी

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ।

कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

दियारबाकरस्थित बीबीसी टर्कीश संवाददाताका अनुसार त्यहाँ एउटा सपिङ मल भत्किएको छ।

गाजा स्ट्रिपमा रहेका बीबीसीका एकजना कार्यक्रम उत्पादक रुश्दी अबुअलौफले आफू बसेको घर करिब ४५ सेकेन्ड हल्लिएको बताए।

टर्कीका भूकम्पविद्हरुले भने सो भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।

भूकम्पको भग्नावशेषमा मानिस

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो।

सन् १९९९ मा देशको उत्तर(पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार भन्दाबढी मानिसले ज्यान गुमाएका थिए।

यसैबीच संयुक्त राज्य अमेरिकाले उक्त विपद्का विवरणबाट आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्‍याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिनुभएको छ।

Image

 

Share Now

Leave a comment.