Prakash Adhikari February 7, 2023

टिफनी वेरथाइमर/ बीबीसी न्यूज

अंकरा(टर्की), २४ माघ । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ ।

सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४ हजार ३ सय जनाको मृत्यु भएको जनाइएको छ। पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो।

उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन्।

विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।

यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो।

भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्। भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो।

पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो।

यस क्षेत्रमा परकम्पहरू पटकपटक महसुस भइरहेका छन्।

भूकम्प पीडित

भूकम्प पीडित

टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ।

उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटेका छन् र त्यो सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ।

“भूकम्प जाँदा दुर्भाग्यवश परिस्थिति दोहोरिन्छन्। मृतक र घाइते भएकाहरूको सङ्ख्याबारे प्रारम्भिक विवरण केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुन्छ,” युरोपका लागि डब्लूएचओका वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले समाचार संस्था एएफपीलाई भन्नुभएको छ।

स्मलवुडले हिउँका कारण धेरै मानिसहरू आवासविहीन हुने जोखिमसमेत बढाएको जानकारी दिनुभयो।

धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै भूभागका शिविरहरूमा आश्रित छन्।

विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ।

दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन्।

ध्वस्त भएका भवनहरू मध्ये गाजीयान्टेप कासल ऐतिहासिक महत्त्वको थियो जुन २ हजार वर्षभन्दा पुरानो हो।

बीबीसीको मध्यपूर्वस्थित संवाददाता आना फोस्टरले टर्कीको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको सहर ओस्मानीयाबाट एक विनाशकारी दृश्यको वर्णन गर्नुभएको छ, “पानी परिरहेको छ जसले उद्धार कार्यमा अड्चन थपेको छ। आज रातभर सहरमा बिजुली छैन।हामी अझै पनि निरन्तर परकम्पहरू महसुस गरिरहेका छौँ र त्यहाँ अझै धेरै भवनहरू भत्कन सक्ने चिन्ता छ” ।

Image

भूकम्पको भग्नावशेषमा मानिस

टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिणी टर्कीमा ठूलो आगलागी भएको भिडिओहरू सार्वजनिक भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास प्रवाह प्रणालीमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन्।

टर्कीका ऊर्जा मन्त्री फातिह डोन्मेजले पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरेपनि तर विस्फोटबारे कुनै जानकारी दिनुभएको छैन।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो।

सन् १९९९ मा देशको उत्तर(पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार भन्दाबढी मानिसले ज्यान गुमाएका थिए।

सन् १९३९ मा टर्कीको पूर्वी एर्जिनजन प्रान्तमा भूकम्प जाँदा ३३ हजार मानिसको ज्यान गएको थियो र त्यसलाई सबैभन्दा विध्वंसकारी भूकम्प ठानिन्छ।

टर्की रेड क्रिसेन्टले त्यहाँका सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको छ। उक्त सङ्गठनका अध्यक्ष केरेम किनिकले ट्विटरमा लेखेअनुसार प्रभावित क्षेत्रमा थप रगत र चिकित्सकीय सामग्रीहरू पठाइँदै छ।

टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले बताउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस सङ्कटको घडीमा अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरेका छन् र प्रकोपबाट प्रभावित धेरै परिवारहरूलाई ूपहुँच चुनौतीपूर्ण भएको क्षेत्रमा मानवीय सहायता अत्यावश्यक रहेकोू बताउनुभएको छ।

युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ। नेदरल्यान्ड र रोमानियाका उद्धारकर्मीहरू यसअघि नै प्रकोप स्थलतर्फ जाँदै छन्।

यूकेले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाउने जनाएको छ।

फ्रान्स, जर्मनी, इजरेल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्की र सिरियालाई इरानले जस्तै सहयोगको प्रस्ताव गर्नुभएको छ।

ती सहरहरूमा कम्तीमा एक साताका लागि विद्यालय बन्द गरिएको छ।

टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमन सोलुले प्रारम्भिक रूपमा १० विभिन्न सहर भूकम्पका कारण प्रभावित भएको बताउनुभयो। ती क्षेत्रका विद्यालयहरू कम्तीमा एक साताको लागि बन्द गरिएका छन्।

Share Now

Leave a comment.