काठमाडौँ, २४ माघ । माघ संक्रान्तिका दिन गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर ७२-५०० विमान दुर्घटनाको कारण जहाजको पंखा र पखेटाको फ्ल्यापमा समस्या भएको पत्ता लागेको छ ।
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भए अनुसार उडिरहेको विमानको प्रोपेलर(पखेटाको एड.गल ) जहाज मोडिने समयमा छड्के हुनुपर्नेमा ९० डिग्रीमा देखिएका थिए ।
तर ककपिटबाट नियन्त्रण गर्नमिल्ने प्रोपेलरको इड.गल मानवीय कारणले बिग्रन गएको हो वा प्राविधिक कारणले हो भन्ने निक्र्यौल भने भैसकेको छैेन।
दुर्घटना जाँच आयोग २०७९ का सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर (ब्लेड)हरू फेदर (छड्के नभई सिधा) अवस्थामै रहेको देखिएको बताउनुभयो ।
उहाँका अनुसार इन्जिनका प्रोपेलरहरू फेदर हुनु भनेको इन्जिनमा पावर कम हुनु हो । यस्तो अवस्थाा इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्थालाई बुभ्mने गरिन्छ ।
उहाँले भन्नुभयो, “दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गए ? यस्तो अवस्थामा पाइलटले पावर नदिएको हो वा इन्जिन बिग्रिएर समस्या आएको थियो भन्नेबारे प्राविधिक र मानवीय पक्षबारे हुने थप अनुसन्धानबाट प्रष्ट हुनेछ ।”
जाँचबुझ समितिका सदस्य एकराजजङ्ग थापाले दुर्घटनाका कारण जहाजको इन्जिनमा समस्या वा मानवीय त्रुटिमध्ये यही नै प्रमुख कारण हो भन्नेबारे यकिन भइनसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दायाँ इन्जिनमा छवटा र बायाँ इन्जिनमा छवटा प्रोपेलर ब्लेड हुन्छन्, जुन फेदर गएको देखिन्छ । हालसम्मको अनुसन्धानमा इन्जिनमा समस्या देखिएको होइन पङ्खाको एङ्गल नमिलेको देखिएको छ ।”
आयोगका सदस्य सचिवद्वारा जारी विज्ञप्तिअनुसार ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त नाइन एन–एएनसी जहाज अवतरण गर्ने क्रममा बेसलेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ । यो भनेको प्रोपेलर निश्चित डिग्रीअनुसार छड्के नभई ९० डिग्रीमा रहनु हो ।
दुर्घटनाग्रस्त विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको सिङ्गापुरमा अध्ययन अनुसन्धान गरिएको हो। त्यस कार्यमा आयोगको नेतृत्वमा ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टीएसआईबी) सिङ्गापुर, टीएसबी क्यानडा, पी एन्ड डब्लू क्यानडा र ईएएसएका प्रतिनिधिहरू संलग्नतामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ।
त्यस क्रममा सिङ्गापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न उडान र प्राविधिक पक्षहरूको थप अध्ययन गरिएको थियो।
गत साता गरिएको डाटा विश्लेषण तथा अनुसन्धान गर्दा दुवै इन्जिनमा रहेका प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
छानबिन आयोगले पूर्ण प्रतिवेदन आउन समय लाग्ने जनाउँदै प्रारम्भिक प्रतिवेदन भने चाँडै सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।
काठमाडौँबाट पोखराका लागि चालक दल र यात्रुसहित ७२ जना सवार विमान पोखरा विमानस्थलमा अवतरण गर्नु केही समयअघि सेतीखोँचमा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका सदस्यसहित सबै यात्रुहरुको मृत्यु भएको थियो।(स्रोतःगोरखापत्र)


















