Prakash Adhikari February 8, 2023

विदुर(नुवाकोट), २५ माघ । युरोपेली सङ्घको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमेत्रिशूली २२० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।

सङ्घको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् ।

साथै, चिलिमे हबदेखि त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ । अनुमानित लागत ३ करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लु)को अनुदान रहेको छ ।यो आयोजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण लगानी रहेको छ ।

टोलीले त्रिशूली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो । टोलीले नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मिति लगायतका विषयमा छलफल गरेको थियो ।

टोलीप्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषकजनक देखिएको उल्लेख गरेको टोलीसँगै स्थलगत निरीक्षणमा पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभएको छ ।

भौगोलिक रुपमा जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने र सडक नभएकाले ढुङ्गा, गिट्टी, बालुवा, टावरका सामान, मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो । अहिले निर्माणले गति लिएको छ ।

‘निर्माणमा केही ढिलाइ भएकामा उहाँहरुले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनुभएको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई प्रगति हासिल गरेको र भौगोलिक रुपमा जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभएको छ ।

‘युरोपेली सङ्घले इआइबीमार्फत नेपालको जलविद्युतको उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको छ। ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको सहवित्तीयकरणमार्फत लगानी गर्न इच्छा व्यक्त गरेको छ, युनियनका अधिकारीहरु चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि थप आयोजनामा लगानीका लागि सकारात्मक देखिएका छन्’, प्राधिकरणका कार्यकारी निर्देशक घिसिड.ले भन्नुभयो ।

इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लामा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ ।

केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहलाई चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमशः ७१ र ७० प्रतिशत छ । प्रसारण लाइन र सबस्टेसनको निर्माण आगामी चैतभित्र सक्ने लक्ष्य छ । प्रसारण लाइन निर्माणमा करिब ३ सय, चिलिमे हब सबस्टेसनमा ९० र त्रिशूली थ्री बी हबमा एक सय ६० श्रमिक परिचालित छन् ।

लगानीकर्ताहरुको निरीक्षण भ्रमणकै क्रममा कार्यकारी निर्देशक घिसिङले श्रमिकको सङ्ख्या थपेर टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरण जडान गर्ने लगायतका काम समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

दुवै सबस्टेसनमा रहने ट्रान्सफर्मर, जिआइएस लगायतका महत्वपूर्ण उपकरण आयोजनास्थलमा ल्याइसकिएको छ ।

यस्तै प्रसारण लाइनका टावर, कन्डक्टरलगायत सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेको छ । अहिले सबस्टेसनमा उपकरण जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ ।

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ टावरमध्ये ४४ वटाको जग हालिएको छ । १३ टावरको आंशिक जग हालिएको छ भने १५ टावरको जग हाल्न खन्ने तथा ढलानको काम भइरहेको छ ।

यस्तै २९ वटा टावर खडा गरिएको छ । खडा गरिएका टावरमा तार तान्न मुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ । तार तान्ने काम छिट्टै सुरु हुनेछ ।

तत्काल १० किलोमिटर तार तान्न सकिन्छ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनिजले अहिले निर्माणमा तीव्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखी काम भइरहेको जनाएको छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पौषमा कार्यान्वयनमा आएको थियो ।(स्रोतः नेपाल खबर डटकम र क्लिकमाण्डू)

Share Now

Leave a comment.