Prakash Adhikari February 8, 2023

 

काठमाडौं, २५ माघ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ।

दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएकी उहाँले स्वदेश फर्कनु पहिले गर्नुभएको पत्रकार सम्मेलनमा बुधबार सो कुरा बताउनुभएको हो।

उहाँले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताउनुभयो।

उहाँले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गर्नुभयो। उहाँले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रुपमा नबुझ्नसमेत आग्रह गर्नुभयो। उहाँले अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको पनि बताउनुभयो। उहाँले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘भूराजनीति परिवर्तन भइ नै रहन्छ। शीत युद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो। तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला। हामी साथमा काम गर्नेर्छौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौँ। नेपालसँग गरेको प्रतिवद्धताको उत्पादन हो।’’

प्रमुख सामन्थले सञ्चारकर्मीले सोधेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो भन्ने प्रश्नमा नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गर्नुभएका प्रतिवद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रुपमा हेरेको बताउनुभयो।

उहाँले सो सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिनुभयो।

 

Share Now

Leave a comment.