Prakash Adhikari February 9, 2023

काठमाडौं, २६ माघ । नेपालका शहरी क्षेत्रका खानेपानी प्रणालीहरुमा स्मार्ट प्रविधिको उपयोग हुन थालेको छ । नयाँ प्रविधिको उपयोगले खानेपानीको उत्पादन र वितरण सहज र प्रभावकारी हुँदै गएको छ । चुहावट नियन्त्रण र मर्मत संभारका काम छिटो गर्न संभव भएको छ ।

हालै स्मार्ट वास सोलुसन र कोरियाको इन्टरनेशनल सेन्टर फ अर्बन बाटर हाइड्रोइन्फरमेटिक्स रिसर्च एण्ड इन्नोभेसन(आईसीयूएच)को संयुक्त आयोजनामा भएको एक गोष्ठीमा लेखनाथ खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख इञ्जिनियर शिवप्रसाद अमात्यको अभिव्यक्तिले सबैको ध्यान तान्यो । स्मार्ट वाटर म्यानेजमेण्ट इस्युज इन नेपाल विषयमा भएको गोष्ठिमा उहाँले भन्नुभयो,”अहिले लेखनाथ खानेपानी उपभोक्ता समिति अन्तरगतका आयोजनाहरु मोबाइलबाट सञ्चालन गर्न मिल्छ । खानेपानीको मुहान र वितरण प्रणाली खोल्ने,बन्द गर्ने, क्लोरिनेशन गर्ने सबैकाम मोबाइलबाट गर्न सकिन्छ ।”

खानेपानी प्रणाली अटोमेशनमा

सन २००८ देखि सञ्चालनमा आएको लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पोखरा नगरपालिकाका ७ वटा बडाका ८५ हजार ३ सय ४७ जनसंख्यालाई खानेपानी आपूर्ति गर्दछ । यो समिति अन्तरगत लप्सिडाँडा, डाँडाको नाक,अर्घौ,र सिशुवा खुदी खानेपानी प्रणाली पर्दछन् । कार्यालय प्रमुख अमात्यका अनुसार झण्डै एक दशक पहिलेदेखि नै समितिले खानेपानी प्रणालीलाई अटोमेशनमा लैजाने प्रक्रिया थालेको हो ।

पहिले मोबाईलबाट पम्पिड. पद्धति चलाउने प्रणाली जडान गरियो । त्यसपछि अनलाईन बिलिड.पद्धति थालियो ।त्यसपछि वायरलेस वाटर टेबल इण्डिकेटर पद्धति जडान गरियो र सन २०२१ मा निरीक्षण,नियन्त्रण र तथ्यांक विश्लेषण(सुपरभिजन,कन्ट्रोल एण्ड डाटा एनालाईसिस,स्काडा) पद्धति जडान गरियो । यसमा ३४ वटा सूचक राखिएकोले केहीमा समस्या छ तर खानेपानी प्रणाली भने अटोमेशनमा गएको छ ।


लेखनाथ खानपानी उपभोक्ता समिति मात्रै हैन, साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तरगतका प्राय सबै खानेपानी आयोजनाहरु स्मार्ट प्रविधियुक्त बन्दै गएका छन् । एशियाली विकास बैंक, नेपाल सरकार र स्थानीय उपभोक्ताहरुको संयुक्त लगानीमा सञ्चालित यी आयोजनाहरु सम्पन्न भएपछि स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने परम्परा छ । सन २००० देखि सुरु भएको साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तरगत अहिले चौथो चरणको आयोजनाहरु निर्माण भैरहेका छन् । यो आयोजना अन्तरगत पहिलो चरणमा २९, दोस्रो चरणमा २१,तेस्रो चरणमा २० आयोजनाहरु सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण भैसकेका छन् भने चौथो चरणमा २४ खानेपानी आयोजनाहरु बनिरहेका छन् ।

 

नमूना आयोजना

शहरी खानेपानी तथा सरसफाई आयोजनाका आयोजना उपनिर्देशक विकेश वधानथाछेका अनुसार नेपालमा साना शहरी खानेपानी तथा सरसफाई आयोजनाहरु दक्षिण एशियाको अत्युत्तम र नमूना आयोजनाहरुमा परेका छन् । सहलगानी, लागत असुली तथा साझेदारी कार्यक्रम अन्तरगत सञ्चालनमा आएका यी आयोजना पहिलो चरणमा सञ्चालित आयोजनामा एशियाली विकास बैंक र नेपाल सरकारले ५० प्रतिशत लगानी, नगरविकास कोषको ४५ प्रतिशत ऋण र स्थानीय उपभोक्ताको ५ प्रतिशत लगानीमा सुरु भएका हुन । नगर विकास कोषले दिने ४५ प्रतिशत ऋणको साँबा र ब्याज(५ प्रतिशत)उपभोक्ता समितिले उपभोक्ताहरुबाट उठाएको महसूलबाट २५ बर्षभित्र चुक्ता गर्नुपर्ने व्यवस्था छ । उपभोक्ताबाट सरकारी ऋण तिर्ने व्यवस्था त्यति न्यायोचित नभएको कुरा उठेपछि तेस्रो र चौथो चरणको आयोजनाहरुमा नेपाल सरकार र एशियाली विकास बैंकको लगानीको अंश बढाएर ७० प्रतिशत पुर्याइएको छ भने नगर विकासले दिने ऋण २५ प्रतिशतमा झारिएको छ । उपभोक्ताले दिनुपर्ने योगदान ५ प्रतिशत नै रहेको छ ।


उपनिर्देशक विकेश वधानथाछेका अनुसार लागत असुलीका दृष्टिले मात्रै हैन लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा सामाजिक न्यायको पक्षबाट समेत शहरी खानेपानी तथा सरसफाई आयोजनाहरु एशियाली विकास बैंकको सहयोगमा सञ्चालित अन्य आयोजनाभन्दा अब्बल देखिएका छन् । यी आयोजना अन्तरगतका उपभोक्ता समितिले बार्षिक आय १३ हजार ५ सय भन्दा कम हुने विपन्न परिवारलाई उनीहरुले तिरेको महसूल फिर्ता दिने व्यवस्था गरेका छन भने चर्पीको मर्मत तथा स्तरोन्नति गर्न १० हजार रुपैया अनुदान दिने व्यवस्था गरेका छन् । संस्थागत विकास, दिगोपना र सुदृढीकरणमा पनि यी आयोजनाहरु उत्कृष्ट मानिन्छन् । पारदर्शिता र सुशासनका दृष्टिले पनि खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरु उत्तम देखिएका छन् ।

आयोजना पूरा भएपछि ठेकेदारले उपभोक्ता समितिलाई आयोजनाको मर्मतसंभार, सञ्चालन, कार्यालय सञ्चालन आदिमा सघाउने तथा गाडी र कम्प्युटर लगायतका साधन स्रोत उपलब्ध गराउने गर्दछन् । ठूला बाढी र पहिरोले आयोजना क्षतिग्रस्त भयो भने विभागले र शहरी खानेपानी तथा सरसफाई आयोजनाले मर्मत संभार र पुनर्निर्माणमा सघाउने गरेका छन्।

आयोजनाका उपनिर्देशक विकेश वधानथाछे यी आयोजनामा जडान गरिएको स्काडा प्रविधिको ५ देखि ७ बर्षको तथ्यांक उपलब्ध भयो भने पानीको दैनिक माग र आपूर्तिमा निकै सहज हुने बताउनुहुन्छ । यी तथ्यांकले बर्षको कुन समय कति पानी उपयोग हुन्छ तथ्यमा आधारित विवरण दिनेछन् । कुन चाडबाडमा कति पानी उत्पादन गर्ने? कुन समुदायमा कहिले कति पानी खपत हुन्छ ? वडा, टोल र वस्तीको आवश्यकता अनुसार पानी उत्पादन र वितरण गर्न त्यसले धेरै सघाउने छ ।

स्मार्ट वास सोलुसन्नका अध्यक्ष ई.रामदीप साह भने प्रविधिको उपयोगले उपभोक्ताहरुलाई पनि सजिलो हुनुपर्ने मान्यता राख्नुहुन्छ । “उपभोक्ताले चाहिए जति पानी, चाहिएको समयमा,बिना झन्झट पाउनु पर्यो । पानी गुणस्तरीय पनि हुनु पर्यो र सस्तो पनि पाउनु पर्यो । स्मार्ट पद्धति आयोजना सञ्चालनमा मात्रै हैन, उपभोक्तालाई पनि उपयोगी हुनुपर्दछ ।” अध्यक्ष साहले भन्नुभयो ।

Share Now

Leave a comment.