अंकरा(टर्की), २६ माघ(बीबीसी) । टर्कीमा गएको विनाशकारी भूकम्पका कारण टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १५ हजार मानिसले ज्यान गुमाएको पुष्टि भएको छ।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताउनुभएको छ।
आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन्।
राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गर्दै अहिले स्थिति नियन्त्रणमा रहेको बताउनुभएको छ।
यद्यपि टर्कीका प्रमुख प्रतिपक्षी दलका नेता केमाल किलिचदारोग्लुले उहाँको कुरामा सहमति जनाउनुभएन।
“यदि यहाँ कोही एक व्यक्ति जिम्मेवार छन् भने त्यो एर्दोआन नै हुन्”, उहाँले भन्नुभयो।
राष्ट्रपतिले उक्त आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक रहेको बताउनुभयो।
“यस्तो परिस्थितिमा समेत राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने व्यक्तिलाई सहन सक्दिनँ,” उहाँले पत्रकारहरूसँग भन्नुभयो।
सिरियाको अवस्था झनै जटिल
छिमेकी मुलुक सिरियामा वर्षौँ लामो द्वन्द्वका कारण देशको पूर्वाधारहरू ध्वस्त भएका छन् जसले गर्दा त्यहाँ राहत पुर्याउने प्रयासहरू जटिल बनेका छन्।
टर्की र सिरियाबीचको अन्तर्राष्ट्रिय सिमाना बाब अलहवा क्रशिङ, भूकम्पपछि सडकहरू क्षतिग्रस्त भएका कारण बन्द गरिएको छ।

राष्ट्रपतिसँग भूकम्प पीडितहरू
संयुक्त राष्ट्रका एक जना वरिष्ठ अधिकारीले भने उक्त सडकमा चाँडै पहुँच हुन सक्ने बताए। टर्कीका विदेश मन्त्री मेभलुट कभुसोग्लुका अनुसार देशमा सहायता भित्र्याउनका लागि सीमाका थप दुई वटा द्वारहरू खोल्ने काम भइरहेको छ।
“टर्की र अन्तर्राष्ट्रिय समुदायको सहायता सिरियासम्म पुर्याउने कार्यमा केही कठिनाइहरू छन्। त्यसैले थप दुई वटा सीमा द्वारहरू खोल्ने प्रयास भइरहेको छ”, उहाँले पुष्टि गर्नुभयो।
सिरिया सरकारको सहयोग आह्वानपछि ईयूले ३५ लाख यूरो आर्थिक सहायता हस्तान्तरण गर्ने पुष्टि गरेको छ। यद्यपि, उक्त रकम सरकार तथा विद्रोही दुवै नियन्त्रित क्षेत्रहरूमा पुर्याउनु पर्ने जनाइएको छ।
सन् २०११ मा युद्ध सुरु भएयता त्यहाँको सरकारले उनीहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्ने प्रयास स्वरूप विपक्षी नियन्त्रित क्षेत्रहरूमा पटकपटक सहायता रोकेको आरोप लाग्दै आएको छ।
त्यहाँको इडलिब प्रान्तमा मात्रै १ हजार ५ सय भन्दाबढी मानिसको मृत्यु भएको छ। सिरियाली राष्ट्रपति बशर अल असदका सल्लाहकारका अनुसार विविध प्रतिबन्धहरूका कारण सिरियालाई आवश्यक सहायता प्राप्त हुन सकेको छैन।
“हामीसँग पर्याप्त बुलडोजर र क्रेन छैनन्। हामीसँग युरोपेली र अमेरिकी प्रतिबन्धहरूका कारण पर्याप्त तेल छैन”, बुथैना शब्बानले भन्नुभयो।

नक्सा
शृङ्खलाबद्ध भूकम्पले निम्त्याएको विध्वंस
टर्की र सिरिया दुवै देशका प्रभावित स्थानहरूमा खोजी तथा उद्धार कार्य जारी छ। मृतकहरूको सङ्ख्या अझै बढ्ने देखिएको छ। अत्यधिक चिसो र हिउँका कारण कतिपय क्षेत्रमा पीडितहरूको अवस्था कठिन भएको र उद्धार कार्य झनै प्रभावित भएको जनाइएको छ।
टर्कीमा केन्द्रबिन्दु बनाएर सोमवार बिहान सबेरै ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यस बेला मानिसहरू सुतिरहेका थिए।
त्यसपछि दर्जनौँ परकम्पहरू गए।
पहिलो भूकम्प गएको केही घण्टापछि दिउँसो गएको ७.५ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी टर्कीस्थित काहरामान्मारश सहरनजिकै थियो।
भूकम्प प्रभावित दुवै देशहरूमा मानवीय क्षति निकै बढी हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ। विश्वभरका अन्य देश तथा दाताहरूले सहायता सामग्री, जनशक्ति र चिकित्सकीय सामग्रीहरू प्रस्ताव गरेका छ्न्।
यो भूकम्प किन यति विनाशकारी ?
बीबीसीका विज्ञान संवाददाता पल्लब घोषले टर्कीमा गएको भूकम्प विनाशकारी हुनुको कारणबारे एक सामग्री तयार गर्नुभएको थियो। जसअनुसार टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो।
त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो।
लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे(वाकर भन्छिन्,ूविगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन्।ू

तर भूकम्पको शक्तिका कारण मात्रै विनाश निम्तिने होइन।
यो भूकम्प बिहान सबेरै आएका बेलामा मानिसहरू घरभित्रै सुतिरहेका थिए।
घर तथा भवनहरू कति बलिया छन् कुराले पनि भूकम्पका कारण हुने क्षति फरक पर्न सक्छ।पोर्ट्स्मथ यूनिभर्सिटीका ज्वालामुखी र जोखिम सञ्चारसम्बन्धी अध्यापन गरिरहेकी डा.कार्मेन सोलाना सिरिया र दक्षिण टर्कीमा भूकम्प प्रतिरोधात्मक संरचनाहरूको अवस्था निकै खराब रहेको बताउनुहुन्छ।
यो यस्तो क्षेत्र हो जहाँ विगत २ सय वर्षयता ठूलो भूकम्प आएको थिएन।
त्यसैले पनि पनि यहाँ भूकम्प आउँदा गरिनुपर्ने तयारीको मात्रा भूकम्प आइरहने क्षेत्रभन्दा निकै कम थियो।


















