धनगढी(कैलाली), २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री बन्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि विश्वासको पक्षमा बहुमत नपुग्ने देखेर हिजो विश्वासको मत लिने कार्यक्रम स्थगित गरिएको थियो ।
सुदुरपश्चिम संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यक्रम तय भएको छ।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि हिजो ११ र पुनः १ बजे बोलाईएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो ।
गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदुरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ ।
सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको अवस्थामा अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुदैँ आएको छ ।
बन्दीहरुको रिहाई, झुटा मुद्धा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाई छ ।
नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन । नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारवाही अघि बढाउने छ ।
रावल सरकार गिरेपछि सुुुदूरपश्चिममा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले सरकार बनाउने छ ।


















