काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ।
बुधबार राति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट हुँदा भण्डारी र आमा जलेर घाइते हुनुभएको हो।
भण्डारी र उहाँकी आमा दुवैजनालाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको उहाँको सचिवालयले जनाएको छ।
अस्पतालका डाक्टरहरुका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ।
घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कीर्तिपुर अस्पताल पुगेका छन्। उहाले दुवैजनाको उपचार भइरहेको जानकारी दिनुभएको छ
“अस्पतालबाट भर्खर फर्किएको छु। ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षीया माताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेकोे छु”, उहाँले भन्नुभएको छ।
उहाँले दुवैजनाको स्वास्थलाभका लागि कामनासमेत गर्नुभएको छ।
डा भण्डारीले बुधबारको संसद बैठकमा करिब १२ मिनेट लामो सम्बोधन गर्नुभएको थियो।
मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई हराउँदै उहाँ विजयी हुनुभएको थियो।


















