Prakash Adhikari February 16, 2023

चेन्नाई(भारत), ४ फागुन । नेपाल र भारतबीच सम्पन्न पहिलो महिला राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको छ ।

चेन्नाईस्थित जवाहरलाल नेहरु स्टेडियममा बुधबार भएको खेलमा नेपालकी फरवार्ड सावित्रा भण्डारीले २ मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतविरुद्ध बराबरी बनाएको हो ।

खेलको पहिलो हाफमा दुवै टिम गोल गर्न असमर्थ रहे । दोस्रो हाफमा भारतले तीन खेलाडी परिवर्तन गर्दै नेपाललाई दबाबमा राखेको थियो । दोस्रो हाफमा १२ मिनेटको अन्तरमा दुई गोल गरेको भारत सहज जिततर्फ उन्मुख थियो । तर सावित्रा भण्डारीले २ मिनेटको अन्तरमा दुई गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन।

खेलको चौथो मिनेटमै भारतकी सन्ध्या रंगनाथनको प्रहारमा गोलरक्षक बिट भएपनि उक्त प्रहारले पोस्टको दिशा लिन सकेन । दशौं मिनेटमा नेपालकी रश्मीकुमारी घिसिङको प्रहारलाई गोलरक्षक अदिति चौहानले रोकिन । उक्त बचाउ गर्ने क्रममा चोट बोकेपछि अदितिको स्थानमा इलाङबाम चानु मैदान छिरेकी थिइन् ।

३४ औं मिनेटमा भारतले अग्रता लिने सुवर्ण अवसर गुमायो । बाला देवीले बल अघि बढाउँदा गोलरक्षक एन्जिला पेनाल्टी क्षेत्र बाहिर निस्केर बिट हुँदा गीता रानाले बल खोस्दै खाली पोस्टमा गोल गर्नबाट जोगाएकी थिइन् । लगत्तै सावित्राले गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।

खेलको ५६ औं मिनेट दोस्रो हाफमा सौम्या गुगुलोथले भारतलाई अग्रता दिलाइन् । मनिषा कल्याणको क्रसमा सौम्याको फितलो प्रहार एन्जिलाले कुनै भेउ नै पाइनन् ।

६८ औं मिनेटमा इन्दुमथी कासीरेथानले भारतको अग्रता दोब्बर पारिन् । कार्थिकाको पासमा नेपाली डिफेन्स बिट हुँदा इन्दुमथीले सहजै गोल गरिन् ।

८८ औं मिनेटमा नेपालले खेलमा फर्कने अवसर पायो । स्विटी देवीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सावित्राले पेनाल्टीलाई सुन्दर गोलमा परिणत गरिन । लगत्तै भारतीय डिफेन्सको कमजोरीको भरपुर फाइदा उठाउँदै सावित्रा भण्डारीले वन भर्सेस वनमा सुन्दर गोल गरिन् ।

इन्ज्युरी समयमा प्रिती राइको प्रहार पोस्टभन्दा माथिबाट जाँदा नेपाल अप्रत्याशित जितबाट बन्चित भएको थियो ।

नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल शनिबार खेल्नेछ ।

Share Now

Leave a comment.