Prakash Adhikari February 16, 2023

काठमाडौं, ४ फागुन । खाना पकाउने ग्याँस सिलिण्डर पड्केर घाइते हुनुभएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेकोले उपचारको लागि भारत लैजान अस्पतालले सिफारिस गरेको छ ।

अस्पताले दिएको जानकारी अनुसार सांसद भण्डारीको शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका हुन् ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते हुनुभएको थियो । दुवै जनालाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो ।

उहाँहरु दुवै जनाको आईसीयूमा उपचार भइरहेको छ ।

अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ ।
आमामा जलन बाहेक अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।

आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उहाँको अवस्था पनि गम्भीर छ ।

अस्पतालले एयर–वे म्यानेज लगायतका उपलब्ध प्रविधिबाट उपचार गरिरहेको छ । अस्पतालको स्रोत र साधन सीमिति भएको भन्दै सो अस्पतालले उहाँलाई भारतमा लगेर उपचार गर्न सिफारिस गरेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिनुभएको छ ।

 

Share Now

Leave a comment.