Prakash Adhikari February 16, 2023

 

काठमाडौं, ४ फागुन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ‘पावर समिट २०२३’ आयोजना गर्ने भएको छ।

इप्पानले आठौं संस्करणको पावर समिट चैत १४ र १५ गते काठमाडौंमा आयोजना गर्न लागेको हो। समिटको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुने बताइएको छ ।

ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनी, बिक्रेता, थिंक ट्यांक र अन्य ऊर्जा क्षेत्रका सरोकारवाला उपस्थित हुनेछन्।

सम्मेलनमा करिब ८०० जना सहभागी हुने अनुमान गरिएको छ।

सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहने छ भने प्रायोजकहरूमा प्रमुख विश्व बैंक, आइएफसी, एफएमओ, युएसएआइड लगायतका विकास साझेदार छन्।

इप्पानले सन् २००६ मा पहिलो पावर समिट आयोजना गरेको थियो। यसले मुलुकमा विद्युत उत्पादनको लागि अनुकुल वातावरण सिर्जना गर्न ठूलो योगदान गएको इप्पानको दाबी छ। इप्पानका अनुसार सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाबाट ८६ मेगावाट राष्ट्रिय ग्रीडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रसारणलाइनको जडित क्षमता २ हजार ५ सय २० मेगावाट पुगेको छ।

यो वर्ष थप करिब ६ सय मेगावाट प्रणालीमा थपिने छ। सन् २०२७ सम्ममा कुल जडित क्षमता ६ हजार ७ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। यसरी विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत पुगेको छ।

इप्पान अध्यक्ष कृष्ण आचार्यले अन्तर्राष्ट्रियस्तरका लगानीकर्ता, विकासकर्ता, विशेषज्ञ सबैलाइ समेटेर नेपालको जलविद्युत क्षेत्रमा के गर्न सकिन्छ भनेर २००६ देखि समिट गर्दै आएको बताए। समिटमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान लगायतका सरकारी र निजी क्षेत्रका उच्चस्तरीय टोली समेत आउनेछ।

सम्मेलनमा ५ हजार मेगावाट क्षमताको जलविद्युत आयोजनामा १० खर्ब रुपैयाँ लगानीको प्रत्याभूति गराउने लक्ष्य छ। ‘प्राप्त सूचना अनुसार ५ हजार मेगावाट जलविद्युतका लागि लगानी प्रत्याभूति हुनेछ। त्यो भन्दा बढी पनि हुन सक्छ,’ अध्यक्ष आचार्यले भन्नुभएको छ।

सम्मेलनले नेपालको जलविद्युत विकासका लागि योगदान गर्ने अपेक्षा इप्पानको छ। विदेशी लगानीकर्ताहरु आउन चाहे पनि नेपालका केही नीति नियम सहजीकरण गरिदिनुपर्ने इप्पानका अधिकारीहरुको माग छ।

समिटमा लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजनाहरु प्रदर्शन गरिनेछ। यसले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरलाई परियोजनाहरुको बारेमा जानकारी हासिल गर्ने अवसर प्रदान गर्ने बताइएको छ। यो समिटको मुख्य लक्ष्य हरित ऊर्जाको बजार विस्तार हो।

 

Share Now

Leave a comment.