Prakash Adhikari February 16, 2023

कीर्तिपुर(काठमाडौं), ४ फागुन । ग्याँस सिलिण्डर विस्फोट भएपछि घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति शेरबहादुर देउवा कीर्तिपुर अस्पताल पुग्नुभएको छ।

बिहीबार बिहान उहाँ अस्पताल पुग्नुभएको हो। सभापति देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारी र उनको आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।

त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्यमन्त्री पदम गिरी र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायत दलका नेताहरू कीर्तिपुर अस्पताल पुग्नुभएको छ।

सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गएराति घाइते हुनुभएको थियो।

लगत्तै, सांसद भण्डारीलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो भने आमालाई सिभिल अस्पतालमा देखाएर केही क्षणपछि बर्न अस्पताल पुर्याईको थियो ।

अस्पतालले अवस्था गम्भीर भएको भन्दै देशबाहिरको सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लैजान सुझाव दिएको छ।

यसैबीच सांसद भण्डारीकी घाइते आमा हरिकला भण्डारीको उपचारको क्रममा निधन भैसकेको छ भने सांसद भण्डारीलाई उपचारका लागि मुम्बई लैजाने तयारी भैरहेको छ ।

Share Now

Leave a comment.