Prakash Adhikari February 20, 2023

पोखरा(कास्कीं), ८ फागुन । पोखरा विश्वविद्यालयबाट ६ हजार ९ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन्।

सोमबार विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा उनीहरुलाई दीक्षित गरिएको हो।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दक्ष जनशक्ति पलायन चुनौतीको विषय भएको बताउनुभयो।
विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने अभिभारा विश्वविद्यालयहरुमा रहेको पनि उहाँले बताउनुभयो।

उहाँले निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारले संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको जानकारी पनि दिनुभयो।

‘संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्वोधन हुने अपेक्षा गरिएको छ,’,उहाँले भन्नुभयो।

संवोधनको क्रममा प्रधानमन्त्री दाहालले भूकम्प, कोभिड, रसिया–युक्रेन युद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा परेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा परेको बाछिटाहरूलाई न्यूनीकरण गर्न तथा वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउनसक्ने संकटबाट मुलुकलाई जोगाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको पनि उल्लेख गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले विश्वबजारमा आफूलाई प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न विद्यार्थीहरुसँग धैर्य, संयमित र दूरदर्शीता आवश्यक रहेको पनि बताउनुभयो।

आफू कास्कीको लेबाडेमा जन्मेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले पोखरासँग भावनात्मक सम्बन्ध रहेको बताउनुभयो।

Share Now

Leave a comment.