बेइजिड.(चीन), २६ फागुन । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
१४ औं चिनियाँ जनकंग्रेस ९एनपीसी०को जारी अधिवेशनले शुक्रवार उहाँलाई राष्ट्रपतिमा निर्वाचित गरेको हो।
त्यस्तै एनपीसीले उहाँलाई चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ।
त्यस्तै एनपीसीले हान झङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ। सोही बैठकले झाओ लचीलाई एनसीपीको स्थायी कमिटीको अध्यक्षमा निर्वाचित गरेको छ।
बैठकले एनपीसी स्थायी समितिका १४ जना उपाध्यक्षसमेत चयन गरेको छ। जसमा ली होङझोङ, वाङ तोङमिङ, स्याओ चेइ, झङ चिनवाङ, तिङ झोङली, हाओ मिङचिन, साइ ताफङ, ह वेइ, वु वेइह्वा, तिय निङ, पङ छिङह्वा, झाङ छिङवेइ, लोसाङ जामचन र सोहारत जाकिर हुनुहुन्छ। त्यस्तै स्थायी समितिको महासचिवमा लिउ छि निर्वाचित हुनुभएको छ।
यसैबीच नवनिर्वाचित राष्ट्रपति तथा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी शुक्रबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा संविधानप्रति निष्ठाको सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सीको तेस्रो कार्यकालका लागि १ हजार ९ सय ७७ सदस्यीय एनपीसीले सर्वसम्मत मत दिएको हो। एनपीसीले प्रधानमन्त्रीसहित बाँकी राज्य परिषद्का सदस्यहरु तथा अन्य सरकारी उच्च अधिकारीहरु पनि निर्वाचित गर्नेछ।
तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै गर्दा सीका लागि ताइवान मामिला, कोभिड १९ का कारण असर परेको अर्थतन्त्रलाई उकास्नुपर्ने चुनौती छ। यस्तै, अमेरिकासँगको सम्बन्ध र युक्रेन रसिया युद्धमा चीनको भूमिकालाई उहाँले कसरी लग्नुहुन्छ भन्ने पनि चासोका साथ हेरिएको छ।
त्यसका लागि लामो समयसम्म सीको नजिक भएर काम गरेका लि छियाङ नयाँ प्रधानमन्त्री र तिङ स्वाइसियाङ कार्यकारी उपप्रधानमन्त्रीमा निर्वाचित हुँदै छन्।
शुक्रवार नै एनपीसीको बैठकले राज्य परिषद्का अंग तथा संस्थाहरुको सुधार सम्बन्धी योजनालाईसमेत पारित गरेको छ।


















