Prakash Adhikari March 10, 2023

चौतारा(सिन्धुपाल्चोक), २६ फागुन । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सकिएको छ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाईमा निर्माणाधीन यो आयोजनाको ‍अन्तिम चरणका कामहरु भइरहेको छ। आगामी असारभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीले जनाएको छ।

आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवर्क्स) निर्माण सम्पन्न भएको छ। हाल हेडवर्क्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ। ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको छ।

कम्पनीका अनुसार विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरणहरु जडान भइरहेको छ। विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर २२० केभी प्रसारण लाइनका टावरहरु निर्माण सम्पन्न भएको छ। तार तान्न बाँकी छ।

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोशी नदी एवम आसपासको क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९ को महामारीको असर जस्ता प्रतिकूल अवस्था आयोजनाले झेल्नु परेको थियो।

प्राकृतिक विपत्तिको साथै सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजना निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो।

तर करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्‍याएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताउनुभएको छ। हालै आयोजनाको स्थलगत अवलोकन भ्रमणमा जानुभएका प्रबन्ध निर्देशक घिसिड.ले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी ४ महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तीब्रता दिन निर्देशन दिनुभएको छ।

घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताउनुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र सक्ने तालिका बनाएर काम भइरहेको बताउनुभएको थियो। ठेकेदार कम्पनीका प्रतिनिधिहरुले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने काम गरिरहेको बताएका थिए।

सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ। इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ। आयोजनाको परामर्शदाताको काम ट्रयाकवेल इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । प्रशारण लाईन निर्माणको काम ऊर्जा एसी जे.भी. ललितपुरले लिएको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ। निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १ प्रतिशत, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको १ प्रतिशत, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालिको १ प्रतिशत र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको १ प्रतिशत शेयर रहेको छ।

४९ प्रतिशत साधारण शेयरधनी समुहमा ९कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५ प्रतिशत, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५ प्रतिशत ,ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत, सिन्धुपाल्चोकबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत शेयर रहेको छ।

कम्पनीले साधारण शेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ। कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।

आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८।४० र ४।८० मा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ।

Share Now

Leave a comment.