Prakash Adhikari April 1, 2018

आर्यघाट(काठमाडौं), १८ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री स्वर्गीय  खुमबहादुर खड्काको पार्थिव शरीरको आइतबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय  खड्काको अन्त्येष्टिमा सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । स्वर्गीय  खड्का पूर्वगृहमन्त्री भएकाले उनलाई सशस्त्रले सलामी दिएको हो ।

स्वर्गीय  नेता खड्कालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासहित काँग्रेस नेता तथा कार्यकर्ताहरु, अन्य दलका नेतासहित ठूलो संख्यामा शुभचिन्तकहरु आर्यघाट पुगेका थिए ।

स्वर्गीय  नेता खड्कालाई छोरा अनुरागले दागबत्ती दिएका थिए ।

अनुराग बेलायतबाट आउँदा भारतबाट नेपाल आउने निर्धारित उडान छुटेर अर्को उडान पर्खनु परेकोले पार्टी कार्यालयमा दिइने श्रद्धाञ्जलीको कार्यक्रम फेरबदल गर्नु परेको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु, सांसदहरु, नेपाली कांग्रेसका भातृ एवम् शुभेच्छुक संस्थाका पदाधिकारी सहित सदस्यहरु र ठूलो संख्यामा उपस्थित सर्वसाधरणले स्वर्गीय नेता खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्वर्गीय  खड्कालाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाड., पूर्वगृहमन्त्री जनार्दन शर्मा, पूर्व उपप्रधानमन्त्री कमल थापा सानेपा पुगेका थिए भने सभामुख कृष्णबहादुर महरालगायतले सानेपास्थित खड्काको निवासस्थानमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

आइतबार अपरान्ह बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथां पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।

खड्काको चैत १६ गते साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई शनिवार राती दिल्लीबाट काठमाडौं ल्याएको थियो ।

शनिवार राती र आइतबार अपरान्ह २ बजेसम्म निवासमा नै उनीप्रति श्रद्धाञ्जली अर्पणको व्यवस्था मिलाइएको थियो । धार्मिक विधि र संस्कार अनुरुप घरमा गर्ने कार्य सकिएपछि उनको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि लगिएको थियो ।

मिर्गौला प्रत्यारोपण गराएका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारको लागि भारत लगिएको थियो ।

Share Now

Leave a comment.