Prakash Adhikari March 12, 2023

दमौली(तनहुँ), २८ फागुन। तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ २ को पनि ब्रेक थ्रु भएको छ। यसअघि सुरुङ १ छेडिएको थियो।

जलाशययुक्त यस आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी सुकाउनुपर्ने भएकाले डाइभर्सन बनाइएका दुई वटै सुरुङ छेडिएको तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्धक इन्जिनियर श्यामजी भण्डारीले जानकारी दिनुभयो।

नदीको पानी निकास गर्नका लागि अस्थायी रूपमा प्रयोग गर्ने गरी ६२६.९२ मिटर लम्बाइको डाइभर्सन सुरुङ छेडिएको उहाँले जानकारी दिनुभयो। डेढ महिना अघि ५३९ मिटर लम्बाइको डाइभर्सन सुरुङ १ छेडिएको थियो।

‘‘दुई वटै डाइभर्सन सुरुङ छेडिएकाले पानी धेरै हुने वर्षायाममा समेत नदी सुख्खा बनाएर ड्याम्म निर्माणको काम गर्न सकिन्छ’’, प्रबन्धक भण्डारीले भन्नुभयो। नदीकै सतहमा सुरुङ निर्माण गरिएको ड्यामसाइट निर्माण भएपछि यो बन्द गरिने उहाँले जानकारी दिनुभयो। पानी धेरै भएको बेला डाइभर्सन सुरुङ हुँदै पानी बाहिर पठाउन सकिने उहाँले जानकारी दिनुभयो ।

दुवै टनेल ११.४ मिटर व्यासको रहेको आयोजनाले जनाएको छ। आयोजनाको हालसम्म ३५.३४ प्रतिशत काम पूरा भएको आयोजनाका प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो। आयोजनाको काम तीन चरणमा भइरहेको छ। अहिलेसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति भएको छ। यस अवधिमा १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार रुपियाँ खर्च भएको छ।

आयोजनाको पहिलो प्याकेज अन्तर्गत १ सय ४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम कालिका कन्स्ट्रक्सन प्रा.लि. नेपाल जे.भी.ले निर्माण गरिरहेको छ। जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्ने लगायतका काम भइरहेका छन्।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माणलगायत अन्य काम दोस्रो प्याकेज चीनको सिनो हाइड्रोले गरिरहेको छ। आयोजनाको तेस्रो प्याकेज अन्तरगत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भारतको केइसीले गरिरहेको छ। आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत(५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत प्राधिकरणले ८करोड ६० लाख डलर) व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड १९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ। आयोजनाबाट विद्युत उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख युनिट र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने आयोजनाले जनाएको छ।

 

Share Now

Leave a comment.