काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बिहान ११ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।
यसअघि चैत १४ गतेका लागि बोलाइएको बैठक आज (बिहीबार) का लागि सरेको थियो।
आजको बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाउने बताइएको छ। बैठकले पार्टीबाट सरकारमा कसकसलाई पठाउने भन्ने निर्णय पनि गर्ने छ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको कांग्रेसबाट को–को मन्त्री बन्नेबारे आजको बैठकले औपचारिक निर्णय गर्न लागेको हो।
कांग्रेसका तर्फबाट अर्का उपसभापति धनराज गुरुड.,डा.प्रकाश शरण महत, सीता गुरुड., रमेश रिजाल, एनपी साउद र बीरबहादुर बलायर मध्ये एक, डिकबहादुर लिम्बु र दीपक खड्का सरकारमा जाने लगभग निश्चित भएको बताइन्छ ।
यता उपनिर्वाचनमा भने नेपाली कांग्रेसले तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, चितवनमा पूर्वसभापति जितनारायण श्रेष्ठको चर्चा छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।


















