Prakash Adhikari March 30, 2023

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ। सत्ता गठबन्धनमा मन्त्रालय संख्या र विभागीय मन्त्रालयको भागबन्डा टुंगिएसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो।

स्रोतका अनुसार बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको कार्यक्रम आयोजना गर्न अनुरोध गरिएको छ।

सत्ता गठबन्धनमा रहेका दलहरुको बुधबार बसेको बैठकले मन्त्रालयको संख्या र भागवण्डा टुंग्याएको छ । बैठकमा भएको सहमति अनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई ५ मन्त्रालय तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टि जसपालाई समान २–२ मन्त्रालय दिने सहमति भएको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति, आमजनता पार्टी, जनमत , बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलाई समान १–१ मन्त्रालय भागमा परेको छ । प्रधानमन्त्रीको विश्वासको मतमा सहयोग गरेको र राष्ट्रपति निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मतदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टी भने हाललाई सरकार बाहिरै रहने भएको छ ।

नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आफ्ना मन्त्रीहरु पठाउने भएको छ । उहाँलाई उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी दिइने छ । अर्थमन्त्री डा. प्रकाशशरण महत बन्नुहुने लगभग पक्का भइसकेको छ । परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ। यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेमा निर्णय भइसकेको छैन।

कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सो बैठकले नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउँदैछ।

नेकपा माओवादीका मन्त्रीहरुको मन्त्रालय पनि साटफेर हुने छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्री दाहालले गृह मन्त्रालयको जिम्मेवारी दिंदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री श्रेष्ठ गृहमा सरेपछि उहाँले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व एकीकृत समाजवादीमा जाने भएको छ । समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री बन्नुहुने भएको छ ।

समाजवादीबाट नेतृत्व गर्दै सरकारमा जानुहुने उपाध्यक्ष बेदूराम भुसाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री दिइने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय माओवादीको भागमा परेको छ। प्रधानमन्त्रीले शक्ति बस्नेतलाई सो मन्त्रालयको जिम्मेवारी दिन चाहनुभएको छ ।
२ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको जनता समाजवादी पार्टी (जसपा)ले शहरी विकास मन्त्रालय पाउने सम्भावना रहेको छ ।

Share Now

Leave a comment.