नयाँदिल्ली(भारत),२४ चैत्र । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसंग शिष्टाचार भेट गरेका छन् ।
भेटमा राष्ट्रपति कोविन्दले नेपालका प्रधानमन्त्री ओलीलाई दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलो अन्तराष्टिय भ्रमण भारतबाट गरेको र नेपाल भारतको साझेदारीलाई अझ कसिलो बनाउन योगदान दिएको विषयलाई भारतले उच्च कदर गरेको बताएका थिए ।
उनले प्रधानमन्त्री ओलीको विवेकपूर्ण नेतृत्वमा नेपाली जनताको र्आिर्थक सामाजिक रुपान्तरण तीव्र गतिमा हुने विश्वास व्यक्त गरेका थिए ।
भेटमा राष्ट्रपति कोविन्दले भारतले नेपालसंगको आर्थिक र विकास साझेदारीलाई महत्व दिएको बताउदै नेपालका प्राथमिकताप्राप्त क्षेत्रमा भारत सघाउन तयार रहेको बताए ।
उनले दुवै देशको सहज र सबल सम्बन्धले दुवै मुलुकको आर्थिक बृद्धिलाई बलियो बनाउदै नागरिकहरुलाई लाभ दिने विश्वास व्यक्त गरे ।
उनले दुई देशको सम्बन्ध सद्भाव, आपसी विश्वास र पारस्परिक लाभमा आधारित हुनुपर्ने बताए ।
भेटमा राष्ट्रपति कोविन्दले दुई देशबीचको सम्बन्ध भौगोलिक निकटताको अलवा इतिहास, संस्कृति, सभ्यताका साथै जनस्तरको र पारिवारिक सम्बन्धले पनि अझ कसिलो भएको उल्लेख गरेका थिए । उनले भारतले नेपालमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि चाहेको पनि बताए ।
भेटमा प्रधानमन्त्री ओलीले दुइ देशको सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपाली जनताले हालै सम्पन्न तीन तहको निर्वाचन मार्फत राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासको पक्षमा जनमत जाहेर गरेको स्मरण गराए । उनले नेपाल अब समृद्धि र विकासको मार्गमा जान चाहेकोले भारतको सदासयपूर्ण सहयोगको आशा राखेको बताए ।