काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख तेस्रो साता भारत भ्रमणमा जानुहुने भएको छ ।
उहाँलाई भारतीय समकक्षी नरेन्द्र मोदीवाट भ्रमणको निम्तो प्राप्त भएको छ ।
गत सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्रीलाई भेटेर सो निम्तो दिनुभएको हो।
भारत भ्रमणको निमन्त्रणा पाउनुभएका प्रधानमन्त्री दाहालले त्यसको तारतम्य मिलाउन परराष्ट्र मन्त्री नियुक्तिलाई प्राथमिकता दिनुभएको छ ।
सत्तारुढ गठबन्धनभित्र सिटको बाँटफाँटको किचलो नमिलेर मन्त्रिमण्डललाई पूर्णता दिन नसक्नुभएका प्रधानमन्त्री दाहालले भारत भ्रमणलाई लक्षित गरी आज परराष्ट्र मन्त्री भने नियुक्त गर्नुहुने भएको छ । नेपाली कांग्रेसले परराष्ट्र मन्त्रीमा एनपी साउदलाई पठाउने भएकोे छ । उहाँको आज ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेकोे छ ।
भारतसंगको निकटताका कारण नेपालमा प्रधानमन्त्री भएपछि भारतभ्रमण जाने चलन छ । गत पौष १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका दाहाल पहिलो गठबन्धन संकटमा परेर तोडिएपछि चुनावपूर्वको गठबन्धन ब्युताएर आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन सफल हुनुभएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँचो मिलाउन नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव अघिल्लो साता दिल्ली जानुभएको थियो । गत आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको निम्ता दिनुभएको थियो ।
भारत भ्रमणको कुटनीतिक र राजनीतिक महत्व बुझेर प्रधानमन्त्री दाहालले चीन र कतारको भ्रमण रद्द गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाललाई चीनको हुनान प्रान्तमा चैत १४ देखि १७ सम्म सम्पन्न भएको बोआओ फोरम कार्यक्रमका लागि चिनियाँ राजदूत छन सोङले फागुन १० मै भेटेर निम्तो दिनुभएको थियो ।
त्यस्तै गत फागुन महिनामा कतारको दोहामा भएको र नेपालले अध्यक्षता गर्ने अतिकम विकसित राष्ट्रहरूको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनको सहभागिता पनि उहाँले रद्द गर्नुभयो । सो कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नुभयो । मार्च ५ देखि कतारको राजधानी दोहामा भएको उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ुकोअर्डिनेसन ब्युरोुको अध्यक्षको जिम्मेवारी दिएको थियो।
प्रधानमन्त्री दाहालले गत पौष १० मा प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय सञ्चारमाध्यमलाई आफ्नो पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै हुने बताउनुभएको थियो ।


















