खार्तुम (सुडान), ३ वैशाख(बीबीसी) । सुडानको सेना र एउटा कुख्यात अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ भइरहेको छ। त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ।
अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ।
सेनाले चाहिँ त्यसलाई अस्वीकार गर्दै आफ्नो वायुसेनाले उक्त अर्धसैनिक बलका आधार शिविरहरूमा आक्रमण गरिरहेको बताएको छ।
मानिसहरू उक्त भिडन्तबाट आफूलाई बचाउन सङ्घर्ष गरिरहेका छन्।एकजना प्रत्यक्षदर्शीका अनुसार मानिसहरूलाई त्यस्तो भिडन्त हुन्छ भन्ने लागेको थिएन।
त्यसैले धेरै मानिसहरू घरबाट बाहिर निस्किएको अवस्थामा थिए।पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेको उहाँको भनाइ छ।
“यहाँ अझै गोली चलिहरेको छ र मानिसहरू घर भित्रै बसिरहेका छन्। यहाँ आतङ्क र डरको स्थिति छ,” अजोक मोनीबायोकले केन्यामा रहेकी उनकी दिदीमार्फत बीबीसीसँग भन्नुभयो।
रोयटर्स समाचार संस्थाले सहरको मध्य भागमा रहेको सेनाको मुख्यालय नजिकै गोली चलेको आवाज सुनिएको जनाएको छ।यसअघि आरएसएफले खार्तुमको दक्षिणमा रहेको आफ्नो एउटा शिविरमा हमला भएको बताएको थियो।सुडानको सेनाले आरएसएफ लडाकुहरूले सैन्य मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ।
कहाँकहाँ हुँदैछ लडाइँ ?
एएफपी समाचार संस्थाले सेनाका प्रवक्ता ब्रिगेडियर जेनरल नबिल अब्दल्लाहलाई उद्धृत गर्दै जनाए अनुसार खार्तुम र सुडानका अन्य ठाउँमा रहेका धेरै सैनिक शिविरमा र्यापिड सपोर्ट फोर्सका लडाकुहरूले आक्रमण गरेका छन्।
“भिडन्त जारी छ र सेनाले देशको रक्षाको लागि आफ्नो कर्तव्य पूरा गरिरहेको छ,” एएफपीसँग उनले भनेका छन्।रोयटर्सले पनि प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उत्तरी सहर मेरोवेमा गोली चलेको बताएको छ।
अलअरेबिया टेलिभिजनले त्यहाँको सैन्य शिविरबाट धुवाँ निस्किएको तस्बिरहरू प्रसारण गरिरहेको छ रोयटर्सले जनाएको छ।
सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जेनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन्।
आरएसएफ उक्त परिषद्का उपाध्यक्ष जेनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ।सेनाको नेतृत्वमा भने जेनरल अब्देल फताह अलबुर्हान रहनुभएको छ। उहाँ सार्वभौम परिषद्का प्रमुख पनि हुनुहुन्छ।
विवादको कारण
नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने समय तालिकामा बनाएको छ।
आरएसएफले त्यसलाई १० वर्ष पछिसम्म धकेल्न खोजेको थियो तर सेनाले त्यो दुई वर्षमा भई सक्नुपर्नेमा जोड दियो।
यसै सातादेखि तनाव बढेपछि बिहीवार आरएसएफले मेरोवेमा सैन्य आधार नजिकै आफ्ना फौजलाई तैनाथ गरेको थियो।
जेनरल बुरहानले प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो द्वितीय वरीयताका कमान्डरसँग कुरा गर्न इच्छुक रहेको बताउनुभएको छ ।
पश्चिमी र क्षेत्रीय नेताहरूले दुवै पक्षलाई तनाव कम गर्न र नागरिक शासन पुनर्स्थापना गर्ने उद्देश्यसहितको वार्तामा फर्कन आग्रह गरेका छन्।
कुटनीतिज्ञहरूको आह्वान
शुक्रवार स्थिति सामान्य हुने सङ्केत देखिएको थियो।सुडानका लागि अमेरिकी राजदूतले ट्विटरमा लेख्दै दुवै पक्षलाई तत्काल लडाइँ रोक्न आग्रह गर्नुभएको छ।
सहरमा गोली चलेको आवाज सुनेपछि आफू ब्युँझिएको र अहिले दूतावासका अन्य सदस्यसहित सुरक्षित स्थलमा रहेको बताउँदै उहाँले त्यस्तो आग्रह गर्नुभएको हो ।
रुसी दूतावासले पनि “हिंसा बढेपछि” चिन्तित बनेको र तत्काल युद्ध विराम गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ।
दुई वर्षभन्दा बढी समयसम्म सैन्य र नागरिक नेताहरूले शक्ति साझेदारी गरिरहेको अवस्थालाई सन् २०२१ को कू ले अन्त्य गरिदिएको थियो।
लामो समयसम्म सुडानमा अधिनायकवादी शासन गरेका राष्ट्रपति ओमर अल बशिरलाई अपदस्थ गरिएपछि सैन्य र नागरिक नेताहरूले उक्त सम्झौता गरेका थिए।उक्त कू पछि नै खार्तुममा प्रजातन्त्र समर्थक आन्दोलनहरू भइरहेका छन्।


















