Prakash Adhikari April 17, 2023

काठमाडौँ, ४ वैशाख । सञ्चार मन्त्रालय अन्तरगत सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आइतबार दायर गरिएको मुद्दामा खरिद कार्यमा संलग्न सबैसंग गरेर २ अर्ब ७५ करोड रुपियाँ बिगो माग दाबीसहित कारबाहीको माग पनि गरिएको छ।

केन्द्रमार्फत ‘पावर सिस्टम इन सेक्युरिटी एन्ड प्रेसराइज्ड फ्युल स्टोरेज’लगायत सुरक्षण मुद्रणका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधार खरिदमा आर्थिक अनियमितता गरेको आरोपमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो।

अनुसन्धान हुँदा विद्युतीय उपकरण खरिद कार्यमा अस्वाभाविक लागत अनुमान गरी स्वीकृत गरेको, खरिद सम्झौताविपरीत गुणस्तरहीन ‘इलेक्ट्रिक ट्रान्सफर्मर’ स्वीकार गरेको, सम्झौतामा उल्लेख गरिएको भन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गरेको, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवाबापत अग्रिम तवरमा बढी भुक्तानी दिएको कुरा पुष्टि हुन आएको आयोगको दाबी छ।

त्यस्तै आवश्यक नै नरहेको र औचित्य नै पुष्टि नभएको ‘बल्क फ्युल ट्याङ्क सिस्टम’ खरिद गरी सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेर भ्रष्टाचार गरेको आयोगको दाबी छ।

आयोगले कार्यकारी निर्देशक पौडेललाई ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपियाँ बिगो माग गरेको छ। त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधिका रूपमा खटिनुभएका सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल (हाल वन तथा वातावरण मन्त्रालय)लाई ४९ करोड ४६ लाख ३५ हजार ९ सय ४५ रुपियाँ बिगो माग गरिएको छ।

केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पौडेल (हाल राष्ट्रिय सूचना प्रविधि केन्द्र)लाई २० करोड ३८ लाख ९३ हजार ८ सय २७ रुपियाँ बिगो दाबी गरिएको छ। केन्द्रका शाखा अधिकृत मनिकमान महर्जन (हाल राष्ट्रिय समावेशी आयोग)लाई तीन करोड ४४ लाख ६८ हजार ७ सय २९ रुपियाँ, केन्द्रको लेखा अधिकृतबाट सेवानिवृत्त हुनुभएका रामबहादुर बुढालाई १९ करोड ८८ लाख, ९४ हजार २ सय ८९ रुपियाँ बिगो दाबी गरिएको छ।

केन्द्रका तत्कालीन शाखा अधिकृत (हाल जिल्ला समन्वय समिति काठमाडौँ) शिरीष उपाध्यायलाई ४० करोड एक लाख ३९ हजार ७ सय३६ रुपियाँ, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधानलाई २३ करोड ४४ लाख ९६ हजार ९ सय २१ रुपियाँ तथा मेपटेक बिल्डिङस सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जनलाई ४३ करोड, ५७ लाख ४२ हजार ३ सय ६८ रुपियाँ बिगो दाबी गरिएको छ।

सोही खरिद कार्यमा परामर्शदाताका रूपमा छनोट भएको वास्तुशिल्प एसोसिएटस प्रबन्ध निर्देशक मित्रलाल गुरौँलाई ८लाख ६९ हजार ९७ रुपियाँ बिगोसहित मुद्दा दायर गरिएको आयोगको विज्ञप्तिमा जनाइएको छ ।

 

सि.नं नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
1. कार्यकारी निर्देशक विकल पौडेल सुरक्षण मुद्रण केन्द्र रु.६९,०८,८१,८५४।७० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क), (ख), (ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
2. सी.डी.ई. नविन कुमार पोखरेल (मेकानिकल) तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि हाल वन तथा वातावरण मन्त्रालय, सिंहदरबार रु.४९,४६,३५,९४५।७० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क), (ख) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
3. सहायक निर्देशक रमेश प्रसाद पोखरेल तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि र हाल राष्ट्रिय सूचना प्रबिधि केन्द्र, सिंहदरबार रु.२०,३८,९३,८२७।६३ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
4. शाखा अधिकृत मनिकमान महर्जन तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा शाखा अधिकृत र हाल राष्ट्रिय समावेशी आयोग रु.३,४४,६८,७२९।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
5. लेखा अधिकृतवाट सेवानिवृत्त राम बहादुर बुढा तत्कालीन सुरक्षण मुद्रण केन्द्र रु.१९,८८,९४,२८९।३२ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (ङ) र (च) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
6. शाखा अधिकृत शिरिष उपाध्याय तत्कालीन सुरक्षण मुद्रण केन्द्र र हाल जिल्ला समन्वय समिति काठमाडौं रु.४०,०१,३९,७३६।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
7. प्रबन्ध निर्देशक रोहित मान प्रधान इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि. रु.२३,४४,९६,९२१।३२ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन  मागदाबी लिइएको छ।
8. निर्देशक भुवन महर्जन मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि. रु.४३,५७,४२,३६८।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ।
9. प्रबन्ध निर्देशक मित्र लाल गुरौ परामर्शदाता वास्तुशिल्प एसोसिएट्स रु. ८,६९,०९७।३८ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ।

 

 

 

प्रवक्ता
भोला दाहाल

Share Now

Leave a comment.