Prakash Adhikari April 23, 2023

काठमाडौं, १० बैशाख । तनहुँ १, बारा २ र चितवन २ मा जारी प्रतिनिधिसभा सदस्य चयन गर्ने उपनिर्वाचन मध्यान्नसम्म अधिकांश ठाउँमा शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ।

बिहान ७ बजे सुरु भएको मतदानमा ११ बजेसम्ममा सबैभन्दा बढी चितवनमा २५ प्रतिशतभन्दा धेरै मत खसेको आयोगले जनाएको छ। तनहुँमा २० प्रतिशतभन्दा धेरै र बारामा १७ प्रतिशतभन्दा केही बढी मत खसेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बीबीसीलाई बताउनुभयो।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उपनिर्वाचन भइरहेको हो।

उपनिर्वाचन
पाँचवटा संस्थाले उपनिर्वाचनको पर्यवेक्षणका लागि अनुमति पाएका छन्

चितवन२ त्यहाँबाट निर्वाचित रवि लामिछानेको सांसद पद उहाँको नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो जसमा लामिछाने स्वयंसमेत उम्मेदवार हुनुहुनछ।

चितवनको उपनिर्वाचनमा १२ दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

बारा २ मा १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन्।

तनहुँ १ मा भने सबै ९ जना राजनीतिक दलका उम्मेदवार छन्।

 

उपनिर्वाचन

निर्वाचन आयोगले शारीरिक अपाङ्गता, क्रियापुत्री, वृद्धवृद्धा र जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म पुग्न विशेष व्यवस्थाका लागि अनुमति दिने र प्राथमिकताका साथ मतदानमा सहभागि गराउन निर्देशन दिएको जनाएको छ।

उपनिर्वाचन

भरतपुरको नारायणी नमूना माध्यमिक विद्यालयमा ह्विलचियरमा मतदान गर्न पुगेका एक मतदाता

 

निर्वाचन आयोगले चुनावकै दिन मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बारा २ मा अनुमतिबिना गरेको भ्रमणलाई लिएर त्यहाँ पुग्नुको कारण स्पष्ट पार्न भन्दै स्पष्टिकरण सोधेको छ।

उक्त क्षेत्रका केही मतदान केन्द्रमा बुथहरू सुरक्षित नरहेको र कब्जा हुनसक्ने भन्दै नेताहरूबाट सार्वजनिक अभिव्यक्ति आउन थालेपछि थप सुरक्षाकर्मी पठाइएको आयोगका सहायक प्रवक्ता अर्यालले बीबीसीलाई बताउनुभयो।

मतदान साँझ पाँच बजेसम्म चल्नेछ। तर उक्त समयभित्र मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले त्यसपछि समेत मतदान गर्न पाउने आयोगका प्रवक्ताले बताउनुभएको छ।

उपचुनाव क्षेत्रको अवस्था कस्तो छ ?
बीबीसी संवाददाता ईश्वर जोशीका अनुसार चितवनमा मतदान केन्द्रमा मानिसहरूको बिहानैदेखि मानिसहरूको भीड देखिएको छ।

चितवन
“दिउँसो गर्मी हुने भएकाले पनि मानिसहरू बिहानैदेखि लाइनमा बसेका छन्”, उहाँ भन्नुहुन्छ ,”मतदान केन्द्रहरूमा मानिसहरूको उल्लेख्य उपस्थिति देखिन्छ। एउटा मात्रै बुथ भएका मतदान स्थलमा अझ धेरै भीड लागेको छ।”

चितवनको कविलास माध्यमिक विद्यालयमा राखिएको एक केन्द्रमा १०४ वर्षकी गोरीमाया गुरुङले मतदान गर्नुभएको छ ।

संवाददाता माधुरी महतोका अनुसार बारा जिल्लाका ८२ वटा मतदानस्थलमध्ये ६५ वटालाई सुरक्षाका हिसाबले अति संवेदनशील भनेर वर्गीकरण गरिएको छ।

कमजोर पूर्वाधार भएका र सीमा क्षेत्रमा पर्ने अनि भिडभाडको जोखिम रहेका स्थलहरूलाई ध्यान दिएर जिल्ला प्रशासनले सुरक्षा योजना लागु गरेको हो।

बारा

अधिकारीहरूले एउटा मतदान केन्द्रमा १० देखी ३० जना सुरक्षाकर्मी खटाएको बताउँदै बाराको उपचुनावका लागि करिब ३ हजार सुरक्षाकर्मी जिल्लाभर परिचालित भएको जानकारी दिएका छन्।

मतदाता थपघट
तीन वटा निर्वाचन क्षेत्रमा ४ मङ्सिरमा भएको निर्वाचनको लागि प्रकाशित अन्तिम मतदाता नामावलीको तुलनामा बारा र चितवनका क्षेत्रमा उपनिर्वाचनमा केही मतदाता बढेका छन्।

तनहुँको निर्वाचन क्षेत्रमा भने मतदान केही घटेका पाइन्छन्।

बारा २    :    १,०५,२४८   (थप २३७)
चितव २ :    १,२४,६९५   (थप ४८०)
तनहुँ १  :      १,२३,३०५ (कम १३५)
आयोगका अनुसार यस उपनिर्वाचन १ सय ९४ मतदान स्थलका ४ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ।

मतदान अवधिभर समेत मौन अवधिकै नियम लागु हुने बताउँदै त्यसबिचमा प्रचारप्रसार गर्ने वा प्रलोभनमा पार्ने कुनै पनि काम गर्न नपाइने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।

सहज मतदान
समानुपातिकतर्फ मतदान गर्न नपर्ने एवं प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैको भार नरहेकाले यस पटकको मतदान र मतगणना दुवै पहिलेभन्दा सहज हुने आयोगका अधिकारीहरू बताउँछन्।

‘पहिले चार वटा मतपत्र हुनेमा यस चुनावमा एउटा मात्र मतपत्र छ’, निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्नुभयो,’तर मतदान गर्ने तरिका पहिलेको जस्तै हो( सेतो कागजमा रातो मसीले छापिएको मतपत्रको चुनाव चिन्हमा स्वस्तिक छाप लगाएर मत खसाल्ने।’

सहायक प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र हात नपरेको वा हराएको अवस्थामा पाँच प्रकारका परिचयपत्रका भरमा मतदान गर्न सकिनेछ।

नागरिकता, लालपुर्जा, राहदानी, सवारी चालक अनुमति पत्र र राष्ट्रिय परिचयपत्र जस्ता प्रमाणका फोटो स्पष्ट बुझिने सक्कलीप्रति भएमा मतदाता नामावलीमा नाम भएका जो कसैले मतदानबाट बञ्चित हुनपर्ने छैन ।

उम्मेदवार र नतिजा
मतदान केन्द्र

 

एउटा मात्र मतपत्र भएका कारण ूकुनै विवाद नभएमा मतदान सकिएको २४ घण्टाभित्र नतिजा सार्वजनिक हुनसक्नेू आयोगले अनुमान गरेको छ।

‘४ मङ्सिरमा चारवटा पानामा हुने छुट्टाछुट्टै मतपत्रमा मतदान गरेकाले ३ देखि ५ मिनेट लागेको थियो, यसपटक त्यस्तो समय लाग्दैन’, सहायक प्रवक्ता अर्याल भन्नुुहुन्छ, ‘गणना समेत आइतवार रातीबाट गन्न सुरु भएमा सोमवार रातीसम्म आइपुग्न सक्छ।’

मतगणनाको काम जिल्ला सदरमुकामहरूमा हुने बताइएको छ।

नेपालको संविधानले सङ्घीय संसद् अन्तर्गत १ सय ६५ सिट पहिलो हुनेले जित्ने प्रणालीबाट र १ सय १० वटा सिट समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरेको छ।

संसद्को आयु ६ महिनाभन्दा बढी रहेको अवस्थामा कुनै पनि सिट रिक्त भएको खण्डमा जुन प्रणालीबाट सांसद चुनिएको हो त्यहीबाट परिपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

यातायात प्रभावित
मतदानको समयमा निर्वाचन भएका क्षेत्रमा सार्वजनिक तथा निजी यातायात आवागमन रोकिएको छ।

आयोगले यातायात व्यवस्थापनको जिम्मा स्थानिय प्रशासनलाई दिएपछि उनीहरूले एकैखाले निर्णय गर्दै निर्वाचन क्षेत्र छुने राष्ट्रिय राजमार्गहरूमा समेत अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन नदिइने बताएका छन्।

चितवनको निर्वाचन क्षेत्रमा महेन्द्र राजमार्ग र काठमाडौं र पोखरा जोड्ने नारायणग मुङ्लिन खण्ड पर्छ भने तनहुँको निर्वाचन क्षेत्रमा पृथ्वी राजमार्ग पर्छ।

बाराको निर्वाचन क्षेत्रमा भने मुख्य राजमार्ग पर्दैन।

ूलामो दूरीका गाडीलाई सुरुमा स्कर्टिङ गर्नेबारे सोचिए पनि त्यो सम्भव नहुने ठानेर यस्तो विकल्पमा गएका हौँ,ू चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले भन्नुभयो।

उपनिर्वाचनका कारण बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म तीनवटा जिल्लाका संबन्धित निर्वाचन क्षेत्रमा त्यसरी यातायात सञ्जालनमा रोक लगाइएको छ।

निर्वाचन आयोग

आयोगले एक विज्ञप्तिमार्फत् ‘दृष्टिविहीन वा शारीरिक रूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति ‘ का हकमा मतदान अधिकृतले छुट्टै व्यवस्था गर्न सक्ने जनाएको छ।

जसमा ‘आफैँ मत सङ्केत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत सङ्केत गर्ने उपयुक्त व्यवस्था मिलाउने’भनिएको छ।

त्यसैगरी ‘अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन’समेत आयोगले निर्देशन दिएको छ।

 

 

Share Now

Leave a comment.